कुलमानलाई एनआरएनए यूकेको भव्य स्वागत सत्कार, नेतृत्वमा आउन समुदायको सुझाव


लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) ले नेपाल विद्युत प्राधिकरणका पूर्व प्रवन्ध निर्देशक कुलमान घिसिङसंग अल्डरसटमा भव्य ‘मिट एण्ड ग्रिट’ कार्यक्रम गरेको छ।

अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा शुक्रबार एम्पायर हलमा आयोजित उक्त समारोहमा कुलमानको स्वागत सम्मान र उनका कुरा सुन्न सयौं सहभागी भए । उनको सम्मानका लागि स्टेज चढ्न संघसंस्थाका प्रतिनिधि र व्यक्तिहरुको लामो भीड लागेको थियो।

अल्डरसटलाई आफ्नो दोश्रो घर बताउने गरेका गोर्खाहरुमाझ उभिएर कुलमानले गोर्खाको योगदानकै कारण नेपालको पहिचान विश्वभर पुगेको बताए।

हल प्रवेश गर्नु अघि अल्डरसट प्रिन्सेस गार्डेनमा रहेको प्रथम गोर्खा भिसी कुलवीर थापाको सालिकमा श्रद्धान्जली अर्पण गर्दै घिसिङले ‘रिथ’ चढाए । अध्यक्ष प्रेम गाहामगरले पनि रिथ चढाएका थिए।

संयोग कस्तो भो, भिजे डे अर्थात जापानमाथि विजय दिवस परेको दिन ।

प्रत्येक वर्ष १५ अगस्टमा यो दिवस मनाइन्छ जुन दिन सन् १९४५ मा जापानले मित्रराष्ट्रहरू समक्ष आत्मसमर्पण गरेर लगभग छ वर्षपछि दोस्रो विश्वयुद्ध अन्त्य भएको थियो।

सालिकमा रिथ चढाएपछि पञ्चे बाजा र पाइपर धुनका साथ बेलायत अनि नेपालको झण्डा बोकेका नेपालीहरु सम्मिलित रयालीमा सहभागी भएर कुलमान हल प्रवेश गर्दा उनले निकै गौरवान्वित महशुस गरेको बताए।

बेलायतका ५९ संघसंस्थाका प्रमुख, बुद्धिजिवी, व्यवसायी र सर्वसाधारण सहभागी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी घिसिङले आफ्नो न्यानो माया, स्वागत सम्मानका लागि आयोजकप्रति आभार व्यक्त गरे।

एयरपोर्टदेखि नै प्राप्त माया, सद्भाव, स्वागत सत्कार र विश्वासका कारण करिब २० वर्षपछिको आफ्नो यो बेलायत भ्रमण अविष्मरणीय बनेको उनले सुनाए।