काठमाडौं। सरकारले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट व्यवस्थापन तथा अभ्यास गर्ने सातै प्रदेशका सात वटा प्रतिष्ठान सम्मानित गरेको छ।
आज श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा प्रत्येक प्रदेशबाट एक/एक गरी सात प्रतिष्ठानलाई सम्मानित गरिएको हो।
सम्मानित प्रतिष्ठानहरु:
- कोशी प्रदेश- बुट्टाबारी टि प्रा. लि,
- मधेस प्रदेश- डाबर नेपाल प्रा लि,
- बागमती प्रदेश- वरुण विभरेज (नेपाल) प्रा लि,
- गण्डकी प्रदेश- गोर्खा ब्रुअरी प्रा लि,
- लुम्बिनी प्रदेश- विजय डिष्टिलरी प्रा लि,
- सुदूरपश्चिम प्रदेश- महाकाली सुगर इन्डस्टि्ज प्रा लि,
- कर्णाली प्रदेश- शुभ होटेल प्रा लि,
सोही कार्यक्रममा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको प्रवर्द्धन, अनुसन्धान, नीतिगत परामर्श र सचेतनामूलक गतिविधिमा योगदान पुर्याउने प्रा. डा. सुनिल कुमार जोशीलाई कदर पत्रसहित सम्मान गरिएको थियो ।
सम्मानित हुने प्रतिष्ठानहरूलाई बधाई दिँदै मन्त्री भण्डारीले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको समुचित प्रबन्धबाट श्रमिकको उत्पादकत्व अभिवृद्धि हुने बताए ।
उनले यसको अभ्यासबाट मुलुकको समग्र आर्थिक एवं सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने भन्दै सबै प्रतिष्ठानलाई कार्यस्थल स्वास्थ्य, सुरक्षित, व्यवस्थित एवं मर्यादित बनाउन आह्वान समेत गरे ।
मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले विगतको अभ्यास, अनुभव र कमीकमजोरीका आधारमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको स्थितिमा सुधार गर्दै लग्नुपर्नेमा जोड दिए । यसको अभ्यासले स्वयं प्रतिष्ठानको सफलता निर्धारण गर्ने उनको भनाइ थियो ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक चक्रपाणि पाण्डेले सम्मानित हुने प्रतिष्ठानहरूलाई २० वटा मापदण्डका आधारमा चयन गरिएको जानकारी दिए । उनले यस सम्मानले आगामी दिनमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यका क्षेत्रमा योगदान पु-याउन अन्य प्रतिष्ठानलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे ।