काठमाडौं। नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा उल्लेख्य वित्तीय प्रगति हासिल गरेको छ।
बैंकको प्रकाशित वार्षिक वित्तीय विवरण अनुसार, गत वर्षको खुद नाफा १५.०१ प्रतिशतले बढ्दै ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले ६ अर्ब १९ करोड ७१ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी भने स्थिर रह्यो, जसमा ०.०६ प्रतिशत मात्र वृद्धि भएर १६ अर्ब ३२ करोड ७२ लाख ९७ हजार रुपैयाँ पुगेको छ।
अघिल्लो वर्ष यो रकम १६ अर्ब ३१ करोड ७३ लाख १५ हजार रुपैयाँ थियो । तर, वितरणयोग्य नाफामा भने ठूलो वृद्धि देखिएको छ।
यो ५४.८७ प्रतिशतले बढ्दै ४ अर्ब ७७ करोड ३० लाख ५९ हजार रुपैयाँ पुगेको छ, जसको आधारमा बैंकको लाभांश वितरण क्षमता १७.६४ प्रतिशत भएको छ।
अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८ करोड २९ लाख ४ हजार रुपैयाँ र लाभांश क्षमता ११.३९ प्रतिशत मात्र थियो ।
खुद शुल्क तथा कमिसन आम्दानी ५.३८ प्रतिशतले बढ्दै ३ अर्ब ४१ करोड ६१ लाख ६३ हजार रुपैयाँ पुगेको छ । कुल सञ्चालन आम्दानी ३.४१ प्रतिशत वृद्धि भई २१ अर्ब ५१ लाख १० हजार रुपैयाँ भएको छ भने सञ्चालन नाफा २५.४४ प्रतिशतले बढ्दै १० अर्ब ८४ करोड ७८ लाख ५० हजार रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँमा पुगेको छ । जगेडा कोषमा ११.८८ प्रतिशतको वृद्धि भई यो रकम ३१ अर्ब ९० करोड ९५ लाख १७ हजार रुपैयाँ पुगेको छ ।
निक्षेप संकलनमा पनि उल्लेख्य वृद्धि भएको छ । गत वर्ष बैंकले १३.५३ प्रतिशत वृद्धि गर्दै ५ खर्ब २४ अर्ब ६२ करोड ५९ लाख ५९ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष यो रकम ४ खर्ब ६२ अर्ब ९ करोड ७४ लाख १९ हजार रुपैयाँ थियो । कर्जा लगानी १०.४९ प्रतिशतले बढ्दै ४ खर्ब १२ अर्ब ७९ करोड ५५ लाख ४७ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ३ खर्ब ७३ अर्ब ५७ करोड ४१ लाख ५७ हजार रुपैयाँ मात्र थियो ।
वित्तीय सूचकांकमा पनि बैंकको स्थिति मजबुत देखिएको छ । प्रतिसेयर आम्दानी ३.४४ रुपैयाँले बढ्दै २६.३४ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ २३५.५८ रुपैयाँ छ । मूल्य-आम्दानी अनुपात २०.५५ गुणा रहेको छ ।
जोखिम व्यवस्थापनमा पनि बैंकले प्रगति गरेको छ । अघिल्लो वर्ष ४.४५ प्रतिशत रहेको खराब कर्जा घटेर गत वर्ष ४.२७ प्रतिशतमा झरेको छ । रिटर्न अन इक्विटी ११.६४ प्रतिशत रहेको बैंकले जनाएको छ । नबिल बैंकका अनुसार, स्थिर ब्याज आम्दानी, शुल्क तथा कमिसन वृद्धि, सञ्चालन नाफाको मजबुत वृद्धिसँगै वित्तीय संरचना सुदृढीकरणमा पनि उल्लेख्य सफलता हासिल गरिएको छ ।