ईकोनोमिक खबर, काठमाण्डौं।
कृषि अर्थतन्त्रमा बाख्रापालनको बढोत्तरीले १५ औ योजनाले लिएको लक्ष्य भेटाउन सम्भव हुने देखिएको छ । अन्य सुचकांकका सुधार हुन नसकेको भएपनि पशुपालनमा हाम्रो सुधार निरन्तर राम्रो छ ।
पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकाल भन्छन, गाउँ गाउँमा बाख्रापालन राम्रो हुँदा यो सम्भव भएको हो । नेपाललाई चाहिने ९५ प्रतिशत मासु नेपालमै उत्पादन हुन्छ । करिव ५ प्रतिशत मात्र बाहिर बाट ल्याउनु परेको छ । गत वर्ष ३९८ मेट्रिक टन मासु आयात भयो । सात वर्ष अघि प्रति वर्ष ४ देखि ५ लाख खसीबोका आयात भएकोमा गत वर्ष ५५ हजार वटा खसी आयात भए । बाख्रापालनमा यो प्रगती अन्य क्षेत्रमा भन्दा बढी हो । पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालका अनुसार पशुपालनमा युवा कृषक र विकास साझेदारहरुको सक्रिय सहभागीताले यो उपलब्धी हासिल भएको हो ।
विश्व खाद्य संगठनले वर्षमा कम्तिमा १४ केजी मासु उपभोग हुनुपर्ने देखाएको छ । तर हाम्रो देशमा प्रति व्यक्ति १८.१ केजी खपत भएको छ । खाद्य सुरक्षा कायम गर्नेका लागि यो महत्वपूर्ण उपलब्धी बनेको छ । देशको करिव ६० प्रतिशत जनताहरुको जिविकोपार्जनको प्रमुख स्रोत रहेको कृषि क्षेत्र देशको आर्थिक मेरुदण्डको रुपमा रहेको छ ।
कृषि क्षेत्रमा पनि पशुपालन क्षत्रले देशको कुल गार्हस्थ्य उत्पादन तथा कृषि कुल कृषि गार्हस्थ्य उत्पादनमा क्रमश करिव १३ तथा २७ प्रतिशत योगदान गर्दे आएको छ । राष्ट्रिय समस्याको रुपमा देखिएको मातृ तथा बालबालिका कुषोषणको समस्या न्यूनीकरणका दुध , अण्डा र मासुको महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । देश दूध र मासुमा पूर्ण आत्मनिर्भर हुने क्रममा रहेको छ । नेपाल सरकारका आवधिक योजनामा समेत आत्मनिर्भर र निर्यातको लक्ष्य राखेको छ । पछिल्ला वर्षहरुमा खसीको मासुको उत्पादनमा पनि वृद्धि भइरहेको छ । नेपाल सरकारले लिएको लक्ष्य अनुसार पशुपालनमा बढोत्तरी भएको देखिन्छ । गत आर्थिक वर्षमा खसीबोका बाट करिव ८० हजार मेट्रिक टन मासु उत्पादन भयो, जुन पछिल्लो एक दशकमा एक चौथाइले बढेको हो । २०७५ फाल्गुन अन्तिमदेखि सरकारले क्वारेन्टिन ऐनलाई कार्यान्वयनमा कडाई गरेपछि भारतबाट सजिलै आयात हुने खसीबोका नेपाल आउँन करिब रोकिएका छन् । भारतीय खसीबोका नआउँदा बजारमा खसीको मासुको चुलिएर मूल्य ह्वात्तै बढ्ने अनुमान थियो । तर स्वदेशी खसीबोकाले बजारलाई थेगेपछि मूल्यमा ठूलो चाप परेन ।
खसीबोका आयातमा सरकारले घुमाउरो बन्देजले मासु आयातमा वर्षेनी ३ अर्बभन्दा बढी रकम जोगिएको छ । नेपालमा कुल वार्षिक मासुको खपतमा कुखुराको ४६ प्रतिशत, राँगा भैसीको ३३ प्रतिशत र खसीबोकाले १७ प्रतिशत र सुँगुर बंगुरले ४ प्रतिशत योगदान गर्छेन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो उपलब्धी हुनुमा मन्त्रालय संगै नेपालमा संचालित विकास साझेदारहरुको योगदान पनि रहेको छ ।