लेबनानका प्रधानमन्त्रीले दिए राजीनामा


ईकोनोमिक खबर, काठमाडौं।
बेरुत शहरमा भएको विस्फोटको घटनालाई लिएर लेबनानका प्रधानमन्त्रीले राजीनामा दिएका छन् । गत मङ्गलवार झण्डै दुई सय जना भन्दा बढीको ज्यान जानेगरी भएको विस्फोटका कारण लेबनानमा जनआक्रोश बढिरहेपछि प्रधानमन्त्री हसन दीयाबले राजीनामा दिनुभएको हो । राष्ट्रिय टेलिभिजनमार्फत् राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दीयाबले पदत्यागको घोषणा गर्नुभएको हो ।
लेबनानीहरूले सरकारमाथि भ्रष्टाचार र अक्षमताको आरोप लगाएका छन् । आक्रोशित मानिसहरूले विस्फोट पश्चात लगातार प्रदर्शन गरिरहेका छन् । ठाँउठाँउमा उनीहरूको प्रहरीसँग झडपसमेत हुने गरेको बीबीसीले जनाएको छ । यसअघि सोही घटनालाई लिएर त्यहाँका अन्य तीनजना मन्त्रीहरुले पनि राजीनामा दिइसकेका छन् ।
वर्षौँदेखि बेइरुतस्थित बन्दरगाहमा असुरक्षित रूपमा भण्डारण गरिएको २७ सय टनभन्दा बढी एमोनीएम नाइट्रेटका कारण उक्त विस्फोटन भएको थियो । राष्ट्रपति मीसेल आउनले उहाँको राजीनामा पत्र स्वीकृत गर्नुभएको छ ।