नेपाल भलिबल लिग (एनभीएल) को लोगो र स्लोगान सार्वजनिक


केडिया ग्रुपले भलिबलको पुरुष फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) को लोगो र स्लोगान सार्वजनिक गरेको छ।

मङ्गलबार एक कार्यक्रममार्फत युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा भलिबल लिगको लोगो र स्लोगान सार्वजनिक गरिएको हो।

कार्यक्रममा मन्त्री चौधरीले एनभीएलको लोगो अनावरण गरेका थिए भने  मन्त्री चौधरी र केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रूपमा ‘उचाईको नयाँ उडान’ नामक स्लोगान सार्वजनिक गरे।260A3401-1735127077.jpg

केडिया ग्रुपका निर्देशक अश्विन केडियाले नेपाली भलिबललाई थप उचाईमा पुर्याउने लक्ष्यका साथ उचाईको उडान स्लोगान राखिएको बताए।

​​​​​नेपाल भलिबल लिगको पहिलो सिजन आगामी २०२५को मार्च महिनामा सुरु हुनेछ । 

लिगमा देशभरका विभिन्न क्षेत्रबाट उत्कृष्ट खेलाडीहरुका साथै विभिन्न अन्तर्राष्ट्रिय खेलाडीहरूको पनि सहभागिता रहनेछ । 

यो प्रतियोगिताले नेपालभरका उत्कृष्ट भलिबल खेलाडीहरूको सहभागिता सुनिश्चित गर्नेछ र खेलाडीहरूको लागि नयाँ अवसरको सृजना गर्नुका साथै नेपाली भलिबलको स्तरलाई थप नयाँ उच्चाइमा पुऱ्याउने लक्ष्य रहेको केडिया ग्रुपले जनाएको छ।

एनभीएलका एडमिन तथा अपरेसन हेड विकास खेतानले पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुने र सिंगल राउण्ड रोविनका आधारमा खेल हुने जानकारी दिए । उनका अनुसार ९ दिनसम्म चल्ने लिगमा कुल १५ खेल हुनेछ र लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल हुनेछ । यस्तै हरेक टोलीमा ९ नेपाली र ३ विदेशी खेलाडी गरि कुल १२ खेलाडि रहने बताइएको छ । 

पुरुष भलिबलको फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल संघ र केडिया ग्रुपबीच गत जेठमा ७ वर्षको लागि सम्झौता भइसकेको छ । सम्झौता अनुसार केडिया ग्रुपले हरेक वर्ष नेपाल भलिबल संघलाई ३५ लाख रुपैयाँ प्रदान गर्नेछ ।

नेपाल भलिबल लिगको माध्यमबाट नेपालको राष्ट्रिय खेल भलिबललाई नयाँ उचाईमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा लैजाने सोच बनाएको अध्यक्ष विमल केडियाले बताए। 260A3481-1735127116.jpg

कार्यक्रममा श्रीलंकामा भएको काभा पुरूष भलिबल प्रतियोगितामा रजत पदक जित्न सफल भएको यु–२० नेपाली राष्ट्रिय टोलीको सदस्यलाइ नगदसहित सम्मान गरिएको थियो ।  

१२५ वर्ष लामो विरासत बोकेको  केडिया ग्रुपले आर्थिक, शैक्षिक, सामाजिक, आध्यात्मिक, स्वास्थ्य, खेलकुदलगायतका विभिन्न क्षेत्रहरूमा योगदान पुऱ्याउँदै आएको छ ।