काठमाडौं। विभिन्न धर्म तथा समुदायबीच आपसी समझदारी, विश्वास, सहिष्णुता र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले नेपाल युनाइट्सद्वारा आयोजित ‘शान्ति, एकता तथा सामाजिक सद्भावका लागि अन्तरधार्मिक संवाद’ कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ।
कार्यक्रममा विभिन्न धर्म तथा आस्थाका धर्मगुरु, सामाजिक अभियन्ता, युवा, पत्रकार तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, अन्तरधार्मिक समझदारी र शान्तिपूर्ण सहअस्तित्व प्रवर्द्धनका विषयमा छलफल गरिएको थियो।
डा. पिताम्बर अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुरु आचार्य श्री महेन्द्र वशिष्ठ प्रमुख अतिथि तथा शेख नाहिदा बानो अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। नेपाल युनाइट्सका राष्ट्रिय निर्देशक मोहम्मद रहमानले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रमुख वक्ताका रूपमा गुरु आचार्य श्री महेन्द्र वशिष्ठले शान्ति, एकता तथा सामाजिक सद्भावको महत्त्वबारे मन्तव्य प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमको दोस्रो सत्रमा विभिन्न धर्मका प्रतिनिधिहरूको सहभागितामा अन्तरधार्मिक प्यानल छलफल आयोजना गरिएको थियो। छलफलमा श्री गुरु जगन्नाथ सुवेदी, मौलाना नजरुल हसन फलाही, रेभरेन्ड डा. महेन्द्र भट्टराई, भिक्षु पियदस्सी महास्थविर तथा श्री दिनेश कुमार नौलखा, राष्ट्रिय अध्यक्ष, नेपाल स्तरीय श्री जैन श्वेताम्बर तेरापन्थी सभाको सहभागिता रहेको थियो।
डा. पिताम्बर अर्यालको सहजीकरणमा सम्पन्न प्यानल छलफलमा विभिन्न धर्मका दर्शन तथा शिक्षामा निहित शान्ति, करुणा, सहिष्णुता, मानवता र सहअस्तित्वका साझा मूल्यबारे विचार आदानप्रदान गरिएको थियो। साथै, धार्मिक तथा सामुदायिक गलतफहमी, अफवाह, गलत सूचना, पूर्वाग्रह र असहिष्णुताले सामाजिक सद्भावमा पार्न सक्ने प्रभाव तथा यस्ता चुनौती न्यूनीकरणका उपायबारे छलफल गरिएको थियो।
छलफलका क्रममा विविध धार्मिक आस्था, संस्कृति र परम्पराको सम्मान गर्दै साझा मानवीय मूल्यलाई व्यवहारमा उतार्नु सामाजिक एकता र शान्ति प्रवर्द्धनका लागि महत्त्वपूर्ण रहेको विषय उठाइएको थियो। विभिन्न धर्म तथा समुदायबीच नियमित संवाद, आपसी विश्वास र सहकार्यलाई प्रोत्साहन गर्न सके समाजमा देखिने गलतफहमी र विभाजन न्यूनीकरण गर्न सहयोग पुग्ने धारणा पनि व्यक्त गरिएको थियो।
कार्यक्रमको अन्तिम सत्रमा सहभागी धर्मगुरु तथा प्रतिनिधिहरूले समाजमा शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउने साझा प्रतिबद्धता व्यक्त गरेका थिए। समुदायस्तरमा मेलमिलाप, अन्तरधार्मिक सहकार्य र शान्तिपूर्ण सहअस्तित्व प्रवर्द्धनका लागि व्यावहारिक पहल अघि बढाउने विषयमा समेत जोड दिइएको थियो।
कार्यक्रमले विभिन्न धर्म तथा समुदायका प्रतिनिधिहरूबीच आपसी समझदारी अभिवृद्धि गर्न, साझा मानवीय मूल्यको पहिचान गर्न र सामाजिक सद्भाव प्रवर्द्धनका लागि सहकार्यका सम्भावित क्षेत्रबारे छलफल गर्ने अवसर प्रदान गरेको छ।
नेपाल युनाइट्सले कार्यक्रमबाट प्राप्त निष्कर्ष, सुझाव तथा साझा प्रतिबद्धतालाई समुदायस्तरसम्म पुर्याउँदै अन्तरधार्मिक संवाद, सामाजिक एकता र शान्तिपूर्ण सहअस्तित्व प्रवर्द्धनका पहललाई निरन्तरता दिने लक्ष्य लिएको छ। यस्ता संवाद तथा सहकार्यले विविधताबीच पारस्परिक सम्मान, सहिष्णुता र सद्भावको संस्कृति सुदृढ गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।