काठमाडौं । नेपालमा अष्ट्रेलियाली शिक्षा क्षेत्रमा देखिएका पछिल्ला परिवर्तन, विद्यार्थी भिसा, शैक्षिक परामर्शदाताको नियमन तथा सरोकारवालाबीचको विश्वासका विषयमा छलफल गर्न ‘इम्प्याक्ट फोरम–अष्ट्रेलियन एजुकेशन’ आयोजना हुँदैछ।
अष्ट्रेलियन एजुकेसन रिप्रेजेन्टेटिभ्स इन नेपाल (AAERI Nepal) को आयोजनामा शुक्रबार, २५ सेप्टेम्बर २०२६ मा काठमाडौंस्थित द एभरेस्ट होटलमा कार्यक्रम आयोजना हुन लागेको हो।
कार्यक्रमको मुख्य आकर्षण ‘अष्ट्रेलियाली विद्यार्थी भिसा, नेपालको शैक्षिक परामर्शदाता नियमन र सरोकारवालाको विश्वास’ विषयक प्यानल छलफल हुनेछ। महेशबाबु तिमल्सिनाले सहजीकरण गर्ने छलफलमा Excelsia University College की प्रवेश निर्देशक अर्चना शर्मा, Charles Darwin University का दक्षिण एसिया तथा मध्यपूर्व–अफ्रिका क्षेत्रका सहायक उपकुलपति गिरीश अय्यर तथा University of Southern Queensland का बंगलादेश तथा नेपाल कन्ट्री म्यानेजर एमदुर हुसेन सहभागी हुनेछन्।
कार्यक्रममा International Education Association of Australia का प्रमुख कार्यकारी अधिकृत फिल हनीउड, अष्ट्रेलियन ट्रेड एन्ड इन्भेस्टमेन्ट कमिसनका प्रतिनिधि विक सिंह, अष्ट्रेलियन शिक्षा विभागका जर्ज थिभियोस तथा दक्षिण एसियाका क्षेत्रीय निर्देशक मुकेश धामलालगायतको धारणा तथा प्रस्तुति रहनेछ।
त्यस्तै, नेपाल–अष्ट्रेलिया शैक्षिक सहकार्यको आगामी दिशा, विद्यार्थी आवागमन र विश्वासमा आधारित शिक्षा प्रणालीका विषयमा समेत छलफल हुनेछ। कार्यक्रममा AAERI Nepal र ANAAबीच समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रमसमेत राखिएको छ।
कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाका राजदूत सिमोन अर्न्स्ट प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। ANAA का अध्यक्ष सुदर्शन न्यौपाने, AAERI Nepal का अध्यक्ष द्वारिङ शर्मालगायत शिक्षा क्षेत्रका प्रतिनिधिको सहभागिता रहनेछ।
कार्यक्रममा अष्ट्रेलिया अध्ययनका लागि जाने नेपाली विद्यार्थी, शैक्षिक परामर्शदाता, विश्वविद्यालय तथा सरकारबीचको सम्बन्ध र बदलिँदो नीतिअनुसार आगामी सहकार्यका विषयमा समेत छलफल हुने आयोजकले जनाएको छ।