पेसागत महासङ्घका संस्थापक अध्यक्ष धौभडेलको निधनप्रति श्रद्धाञ्जली


काठमाडौं । पेसागत महासङ्घ नेपाल (Confederation of Nepalese Professionals–CONEP) का संस्थापक अध्यक्ष प्राध्यापक हर्ष नारायण धौभडेलको निधनप्रति महासङ्घले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

महासङ्घका अनुसार ९१ वर्षीय प्रा. धौभडेलको २०८३ साल श्रावण ३० गते क्यानडाको क्यालगरीमा निधन भएको हो। उहाँको निधनले नेपालको पेसागत क्षेत्र, राष्ट्रसेवा तथा कूटनीतिक क्षेत्रमा समर्पित एक अनुभवी र अग्रज व्यक्तित्व गुमाएको महासङ्घले जनाएको छ।

महासङ्घले आयोजना गरेको श्रद्धाञ्जली तथा शोकसभामा सहभागी वक्ताहरूले स्व. धौभडेलले नेपाल, नेपाली जनता र समग्र पेसाकर्मी समुदायका लागि पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै उहाँको निधन राष्ट्र र पेसागत क्षेत्रकै लागि अपूरणीय क्षति भएको बताएका थिए।

कार्यक्रमका प्रमुख अतिथि महासङ्घका पूर्व अध्यक्ष प्रमोद शर्माले स्व. धौभडेलको योगदानको चर्चा गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो। महासङ्घका महासचिव केदारनाथ कोइरालाले पनि उहाँको योगदान र नेतृत्वदायी भूमिकाको स्मरण गर्दै शोक व्यक्त गर्नुभयो।

यसैगरी महासङ्घका पूर्व महासचिव बाबुराम थापाले स्व. धौभडेलको निधनले पेसागत महासङ्घ परिवारमा गहिरो क्षति पुगेको बताउँदै उहाँका आदर्श र योगदानलाई आगामी पुस्ताले समेत स्मरण गरिरहनुपर्ने धारणा व्यक्त गर्नुभयो।

स्व. धौभडेलले नेपालको तर्फबाट भारत तथा भुटानका लागि राजदूतको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो। कूटनीतिक सेवामा रहँदा उहाँले नेपालको राष्ट्रिय हित र परराष्ट्र सम्बन्ध सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको महासङ्घका अध्यक्ष पुण्यप्रसाद ढकालले बताएका  छन।

“हामी लुक्यौँ वा डरायौँ भने आफ्नो अधिकार प्राप्त गर्न सकिँदैन। त्यसैले अधिकारका लागि निरन्तर आवाज उठाउँदै संघर्ष गरिरहन्छौँ। अहिले मुलुक संकटको अवस्थामा रहेकाले सबैले हातेमालो गर्दै सरकारलाई सहयोग गर्न आवश्यक छ। एकताबद्ध प्रयासबाट मात्रै वर्तमान संकटको सामना गर्न सकिन्छ।”

महासङ्घका अध्यक्ष ढकालले स्व. धौभडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको निधनले महासङ्घ परिवारलाई अपूरणीय क्षति पुगेको बताउनुभयो। महासङ्घले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।