वैदेशिक रोजगार बोर्डका नवनियुक्त कार्यकारी निर्देशक उप्रेतीले लिए पद तथा गोपनीयताको शपथ


काठमाडौं। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार बोर्डको सचिवालयका नवनियुक्त कार्यकारी निर्देशक निर्मल कुमार उप्रेतीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

शपथ ग्रहण गर्दै उप्रेतीले नेपालको संविधान तथा प्रचलित कानुनको पालना गर्दै आफूलाई सुम्पिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदपूर्तिका लागि युवा, श्रम तथा रोजगार मन्त्रालयले आवेदन आह्वान गरी छनोट प्रक्रिया अघि बढाएको थियो। सो प्रक्रियाबाट सिफारिस भएका उप्रेतीलाई साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो।

मानवअधिकार र आप्रवासन क्षेत्रमा दुई दशकको अनुभव

नवनियुक्त कार्यकारी निर्देशक उप्रेती मानवअधिकार, आप्रवासन, सुशासन, शान्ति निर्माण तथा न्यायमा पहुँचका क्षेत्रमा करिब दुई दशकदेखि सक्रिय रहँदै आएका छन्।

उप्रेतीले यसअघि वैदेशिक रोजगार बोर्डअन्तर्गतको आप्रवासी स्रोत केन्द्रका व्यवस्थापक, प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)का उपकार्यक्रम निर्देशक तथा इन्सेकमा मानवअधिकारसम्बन्धी विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्।

वैदेशिक रोजगारका क्रममा देखिने समस्या, आप्रवासी श्रमिकको अधिकार संरक्षण तथा श्रमिकलाई उपलब्ध गराइने कल्याणकारी सेवाको प्रभावकारिता बढाउने विषयमा उनको अनुभवलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

नवनियुक्त कार्यकारी निर्देशक उप्रेतीको कार्यकालमा वैदेशिक रोजगारमा जाने श्रमिकको हित संरक्षण, आप्रवासी श्रमिक तथा उनीहरूका परिवारलाई उपलब्ध गराइने सेवा प्रभावकारी बनाउने र बोर्डको संस्थागत क्षमता सुदृढ गर्ने विषय प्राथमिकतामा रहने अपेक्षा गरिएको छ।