काठमाडौं। नेपाल रेडक्रस सोसाइटीको आयोजनामा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगका आधारभूत पक्ष, तनाव व्यवस्थापन, सङ्कटका समयमा देखिन सक्ने मनोसामाजिक प्रभाव तथा स्वहेरचाहका उपायबारे सहभागीलाई ज्ञान र व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको हो।

कार्यक्रममा अभिमुखीकरणको उद्देश्य तथा विषयवस्तुसँगै नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गर्दै आएका MHPSS Intervention तथा MHPSS Wellness Service सम्बन्धी जानकारीमूलक सत्र सञ्चालन गरिएको थियो।
त्रिभुवन विश्वविद्यालय, केन्द्रीय मनोविज्ञान विभागका लेक्चररद्वय डा. खेमराज भट्ट र विनोद पौडेलले मानसिक समस्या तथा तनावको पहिचान र तनाव व्यवस्थापनका सीपसम्बन्धी सत्र सञ्चालन गरेका थिए।
सत्रमा मानसिक तथा मनोसामाजिक समस्याका सङ्केत पहिचान गर्ने, तनावका कारण तथा त्यसका प्रभाव बुझ्ने र तनाव व्यवस्थापनका विभिन्न उपाय अपनाउने विषयमा सहभागीलाई जानकारी दिइनुका साथै व्यावहारिक अभ्याससमेत गराइएको थियो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका ४१ जना कर्मचारीको सहभागिता रहेको थियो। सहभागीमध्ये १६ जना महिला रहेका थिए।

अभिमुखीकरणले कर्मचारीमा मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै तनाव व्यवस्थापन, स्वहेरचाह तथा सङ्कटको समयमा आवश्यक मनोसामाजिक सहयोगसम्बन्धी व्यावहारिक क्षमता विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।