एनआरएनए ‘ग्लोबल’ सम्मेलन आज


काठमाडौं । ‘रूपान्तरण र एकता : श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौंमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन हुँदैछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

कार्यक्रममा स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहने र सातवटा प्लेनरी सत्र रहने एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ ।

वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा तथा नेपाल पर्यटन प्रवर्द्धन नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिकालगायत सत्रहरू रहनेछन् ।

आपसमा रहेको मतभिन्नता र मतभेदलाई संवादले नै चिरेर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै महासचिव जोशीले गैरआवासीय नेपाली दिवसको कार्यक्रममा एकताकै लागि छलफल गर्न तथा आआफ्नो विचार राखी योगदान गर्न सम्पूर्ण गैरआवासीय नेपाली अभियन्तामा अनुरोध गरेका छन् ।