काठमाडौं। विश्वव्यापी मोबिलिटी तथा राइड–हेलिङ प्लेटफर्म इनड्राइभ (inDrive) ले महिलालाई व्यावसायिक ड्राइभिङ क्षेत्रमा प्रवेश गराई आर्थिक सशक्तीकरण गर्ने उद्देश्यसहित सञ्चालन गरेको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरेको छ। तीन महिने तालिम पूरा गरेका १० जना महिलालाई काठमाडौंमा आयोजित विशेष समारोहबीच प्रमाणपत्र प्रदान गरिएको हो।
कार्यक्रम अन्तर्गत सहभागी महिलालाई सुरक्षित रूपमा दुईपाङ्ग्रे सवारी सञ्चालन, सडक सुरक्षा, ट्राफिक नियम, व्यावहारिक राइडिङ, लाइसेन्स प्राप्ति प्रक्रिया तथा व्यावसायिक ड्राइभिङका आवश्यक सीपबारे प्रशिक्षण दिइएको थियो। उनीहरूलाई सुरक्षात्मक हेल्मेट, प्राथमिक उपचार सामग्रीसहितको सुरक्षा किट पनि उपलब्ध गराइएको आयोजकले जनाएको छ।
महिलालाई नयाँ रोजगारीको अवसर
अप्रिल २०२६ मा सुरु गरिएको यो कार्यक्रम विशेषगरी अवसरबाट वञ्चित समुदायका महिलालाई राइड–हेलिङ तथा मोबिलिटी क्षेत्रमा रोजगारी र आयआर्जनको अवसर उपलब्ध गराउने लक्ष्यसहित सञ्चालन गरिएको हो।
परम्परागत रूपमा पुरुषको वर्चस्व रहेको ड्राइभिङ पेशामा महिलाको सहभागिता बढाउँदै लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्य पनि कार्यक्रमले राखेको छ।
इनड्राइभका अनुसार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) महिलाका लागि आम्दानीको माध्यम मात्र नभई शिक्षा, स्वास्थ्य, रोजगारी तथा दैनिक आवतजावतमा आत्मनिर्भर बन्ने महत्वपूर्ण साधन पनि हो।
सडक सुरक्षादेखि आत्मरक्षासम्मको तालिम
तालिममा सडक सुरक्षा र ट्राफिक सचेतनासँगै व्यक्तिगत सुरक्षालाई पनि विशेष प्राथमिकता दिइएको थियो।
फाइटब्याक नेपालसँगको सहकार्यमा सहभागीलाई आत्मरक्षा तालिम प्रदान गरिएको थियो, जसबाट सम्भावित जोखिमको सामना गर्ने क्षमता र आत्मविश्वास अभिवृद्धि भएको आयोजकको भनाइ छ।
ट्राफिक प्रहरीको सुझाव
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी सुनिलजंग शाहले सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन र निरन्तर सिकाइलाई व्यावसायिक चालकको सफलताको आधार भएको बताए।
उनले प्रशिक्षण पूरा गरेका महिलालाई बधाई दिँदै सुरक्षित र सफल व्यावसायिक यात्राको शुभकामना व्यक्त गरे।
राइड–हेलिङमा महिलाको सहभागिता आवश्यक
इनड्राइभ दक्षिण एसियाकी कम्युनिकेसन म्यानेजर शेरिन एभ्रिना कौरले धेरै महिला यात्रुले महिला चालक रोज्न चाहने भए पनि प्लेटफर्ममा महिला चालकको संख्या निकै कम रहेको बताइन्।
उनले नेपालमा सुरु गरिएको कार्यक्रमले तालिम, लाइसेन्स र रोजगारीलाई एउटै प्लेटफर्ममा जोडेर महिलालाई व्यावसायिक ड्राइभिङमा प्रवेश गराउने नयाँ मोडेल प्रस्तुत गरेको उल्लेख गरिन्।
त्यस्तै, इनड्राइभ नेपालकी कम्युनिकेसन म्यानेजर मञ्जिता गुरुङले महिलालाई लाइसेन्स प्राप्तिदेखि आत्मविश्वास विकास, परिवारसँग संवाद र आयआर्जनको अवसर सिर्जनासम्म समग्र सहयोग गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताइन्।
प्रमाणपत्र वितरण समारोहमा कार्यक्रम सफलतापूर्वक पूरा गरेका १० जना महिलालाई प्रमाणपत्रसँगै सुरक्षा किट र सम्मानस्वरूप मायाको चिनो प्रदान गरिएको थियो। साथै, सहभागीहरूको यात्रालाई समेटिएको भिडियो पनि प्रदर्शन गरिएको थियो।
कार्यक्रमको समापन अवसरमा एक जना सहभागीलाई विद्युतीय स्कुटर, तीन जनालाई स्मार्टफोन र छ जनालाई स्मार्टवाच प्रदान गरिएको आयोजकले जनाएको छ। यी पुरस्कारले उनीहरूको व्यावसायिक यात्राको सुरुआतलाई थप सहज बनाउने विश्वास व्यक्त गरिएको छ।