कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं ट्राफिक प्रहरीबीच छलफल, चरणबद्ध कार्यान्वयनमा जोड


काठमाडौँ, सवारीसाधनमा प्रयोग हुँदै आएको कालो सिसा (टिन्टेड ग्लास/फिल्म) हटाउने अभियानलाई प्रभावकारी र व्यावहारिक रूपमा कार्यान्वयन गर्ने विषयमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच विस्तृत छलफल भएको छ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेसँग भेट गरी सवारीसाधनमा प्रयोग भइरहेको कालो सिसा हटाउने अभियान, त्यसको कानुनी आधार र कार्यान्वयनका प्रक्रियाबारे छलफल गरेको हो।

छलफलका क्रममा एसएसपी काफ्लेले अन्तर्राष्ट्रिय अभ्यासअनुसार अत्यधिक कालो सिसा भएका सवारीसाधन विभिन्न आपराधिक गतिविधिमा प्रयोग हुने गरेको पाइएको भन्दै नेपालमा पनि कानुनअनुसार त्यस्ता सिसा हटाउने अभियान सञ्चालन गरिएको जानकारी दिएका थिए।

उनले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा भएको व्यवस्थाअनुसार सवारीसाधनको अगाडिको सिसामा दृश्य अवरुद्ध हुने गरी कालो फिल्म वा अन्य कुनै स्टिकर प्रयोग गर्न नपाइने स्पष्ट पारे। साथै सवारी आयातकर्ता तथा विक्रेताले पनि ग्राहकलाई यससम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी गराउनुपर्ने आवश्यकता औँल्याए।

एसएसपी काफ्लेले यदि कुनै सवारीसाधनमा विशेष प्रयोजनका लागि कालो सिसा प्रयोग गर्नुपर्ने अवस्था भए सम्बन्धित सरकारी निकायबाट आवश्यक अनुमति लिएर मात्रै प्रयोग गर्न सकिने बताए। उनले अटोमोबाइल कम्पनीहरूले उत्पादनस्थलबाटै अत्यधिक कालो सिसा जडान गरिएका सवारीसाधन आयात नगर्न पनि आग्रह गरे।

छलफलका क्रममा नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अधिकांश सवारीसाधनमा पछिबाट टाँसिएको कालो फिल्म (स्टिकर) हटाउन प्राविधिक रूपमा कुनै ठूलो समस्या नरहेको उल्लेख गर्दै अभियानको पहिलो चरणमा यस्ता फिल्म हटाउने कार्यलाई प्राथमिकता दिन सुझाव दिए।

त्यसैगरी नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले उत्पादन कम्पनीबाटै कालो सिसा जडान भएर आएका सवारीसाधनको संख्या अत्यन्त न्यून रहेको उल्लेख गर्दै त्यस्ता सवारीसाधनको छुट्टै तथ्याङ्क संकलन गरी आवश्यक प्रक्रिया अपनाउन सकिने धारणा राखे।

यस विषयमा थप समन्वय र समाधानका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नाडालाई लिखित रूपमा छलफलका लागि आमन्त्रण गरेको जनाएको छ। छलफलमा नाडाका उपाध्यक्ष अभिक ज्योतिसहित संस्थाका अन्य पदाधिकारीहरूको पनि सहभागिता रहेको थियो।

नाडा र ट्राफिक प्रहरीबीच भएको यस छलफललाई सवारी सुरक्षा, कानुनको प्रभावकारी कार्यान्वयन तथा अटोमोबाइल व्यवसायी र नियामक निकायबीचको सहकार्यलाई थप मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ।