चितवन। स्वास्थ्य सेवा गुणस्तर सुधारका लागि सरकारले लागू गरेको न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्याङ्कनमा भरतपुर अस्पताल लगातार दोस्रो वर्ष पनि देशकै उत्कृष्ट सङ्घीय अस्पताल घोषित भएको छ। तर उत्कृष्टताको यो उपलब्धिसँगै अस्पतालले बढ्दो बिरामीको चाप, सीमित स्रोतसाधन र पूर्वाधार विस्तारको चुनौती पनि समानान्तर रूपमा सामना गरिरहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत गुणस्तर मापन तथा नियमन महाशाखाले देशभरका १४ सङ्घीय अस्पतालमा गरेको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पतालले ८९ अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो। गत आर्थिक वर्षमा अस्पतालले ८८ अङ्क प्राप्त गरेको थियो। यसपटक एक अङ्क सुधार गर्दै अस्पतालले आफ्नो अग्रस्थान कायम राखेको छ।
मूल्याङ्कनअनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ७७ अङ्कसहित दोस्रो र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ७१ अङ्कसहित तेस्रो स्थानमा रहेका छन्। पाटन अस्पताल को मूल्याङ्कन प्रक्रिया भने जारी रहेको जनाइएको छ।
गुणस्तर मापन तथा नियमन महाशाखाका संयोजक डा. श्रीराम तिवारीका अनुसार मूल्याङ्कनका क्रममा सेवा प्रवाह, आकस्मिक सेवा, औषधि व्यवस्थापन, उपकरणको उपलब्धता, सरसफाइ, संक्रमण नियन्त्रण, मानव स्रोत, व्यवस्थापन प्रणाली, अभिलेखीकरण तथा बिरामीमैत्री सेवासहित एक हजार ४९७ सूचकका आधारमा अस्पतालहरूको परीक्षण गरिएको थियो। ती अधिकांश सूचकमा भरतपुर अस्पतालले उत्कृष्ट प्रदर्शन गरेको उनले बताए।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेका अनुसार अस्पतालले पछिल्लो वर्ष सेवा प्रवाहलाई थप व्यवस्थित बनाएको, अत्याधुनिक उपकरण थप गरेको, औषधि व्यवस्थापन, सरसफाइ तथा जनशक्ति परिचालनमा सुधार ल्याएको परिणामस्वरूप मूल्याङ्कनमा अङ्क वृद्धि भएको हो।
हाल ६०० शय्याको भरतपुर अस्पतालमा दैनिक दुई हजार पाँच सयदेखि तीन हजारसम्म बिरामी बहिरङ्ग सेवाका लागि पुग्ने गरेका छन्। अस्पतालले मुटु, मिर्गौला, क्यान्सर, न्युरोसर्जरीलगायत १४ वटा अतिविशिष्ट सेवा सञ्चालन गर्दै आएको छ। पछिल्लो समय जिल्लाका निजी अस्पतालमा स्वास्थ्य बिमा सेवा बन्द भएपछि बिमामार्फत उपचार गराउने बिरामीको चाप पनि उल्लेख्य रूपमा बढेको अस्पतालले जनाएको छ।
यद्यपि उत्कृष्ट मूल्याङ्कन प्राप्त गरे पनि अस्पतालले सबै बिरामीको अपेक्षाअनुसार सेवा दिन अझै कठिनाइ रहेको स्वीकार गरेको छ। सीमित जनशक्ति, पूर्वाधार र स्रोतसाधनका बीच अत्यधिक बिरामीको चाप व्यवस्थापन गर्नु अस्पतालका लागि मुख्य चुनौती बनेको डा. बगाले बताउँछन्।
स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार भरतपुर अस्पतालको उपलब्धिले गुणस्तरीय सार्वजनिक स्वास्थ्य सेवामा सुधारको सकारात्मक संकेत दिएको छ। तर बढ्दो बिरामी चापलाई व्यवस्थापन गर्न संघीय सरकारले जनशक्ति, उपकरण, बजेट तथा पूर्वाधारमा थप लगानी नगरे उत्कृष्टताको स्तर दीर्घकालसम्म कायम राख्न चुनौतीपूर्ण हुन सक्ने उनीहरूको भनाइ छ।