टोखामा ५० लाख रकममा सिसिटिभी क्यामेरा जडानका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालयसँग सम्झौता


काठमाडौं । टोखा नगरपालिका र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबीच आज सिसिटिभी क्यामेरा जडानका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । टोखा नगरपालिकाको ५० लाख लागतमा काठमाडौं उपत्यका प्रहरी कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ मा तोकिए वमोजिम ठेक्का आह्वान गरी काम सुरु गर्नेछ ।

सिसिटिभी जडानका लागि टोखा नगरपालिकाले पहिलो चरणमा डिजाइन, स्पेसिफिकेसन तथा लागत अनुमान तयार गरी ५० प्रतिशत रकम काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई भुत्तानी गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । ठेक्का प्रक्रियाबाट सम्झौता र इस्टमेटअनुसारको काम निर्माण पक्षले सम्पन्न गरेपश्चात टोखा नगरपालिकाले बाँकी रकम काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई निकासा गर्नेछ ।

सिसिटिभी क्यामेरा जडानले टोखा नगरपालिका क्षेत्रभित्र सुरक्षा र सुशासनका विविध क्षेत्रहरु -शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण, दुर्घटना न्यूनिकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण नियन्त्रण, प्रदुषण न्यूनिकरण, सार्वजनिक सम्पत्ति संरक्षण तथा समग्र सुशासनसँग सम्बन्धित विषयहरुमा प्रभावकारी कार्यसम्पादनमा टेवा पुग्ने अपेक्षा नगरपालिकाले लिएको नगर प्रमुख प्रकाश अधिकारीले बताएका छन् ।