तीन लगानीकर्ता संगठनको स्पष्ट सन्देश : पूँजीबजार अब यथास्थितिमा चल्दैन


काठमाडौँ, १७ चेत । नेपालका तीन प्रमुख लगानीकर्ता संगठनहरूले पूँजीबजारको विकास र सुधारका लागि सरकारसमक्ष ८ बुँदे माग अघि सारेका छन् ।

नेपाल धितोपत्र लगानीकर्ता संघ, नेपाल शेयर बजार लगानीकर्ता संघ र नेपाल शेयरधनी संघले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा पूँजीबजारलाई धराशायी हुनबाट जोगाउन र लगानीकर्ताको मनोबल उच्च बनाउन तत्काल सुधारात्मक कदम चाल्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डमा भएका कथित अनियमितताको छानबिन गर्न उच्चस्तरीय आयोग गठन, रोकिएको आईएसआईएन निर्देशिका कार्यान्वयन, गैरआवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला, कमजोर नेटवर्थ भएका कम्पनीको प्रिमियम आईपीओ रोक्न, संस्थापकको न्यूनतम ३० प्रतिशत हिस्सा अनिवार्य गर्न, लगानीकर्ताको प्रतिनिधित्व सुनिश्चित गर्न तथा नेपाल स्टक एक्सचेन्ज को पुनर्संरचना कार्यदलको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरेका छन्।