युएई। नारीशक्ति समाज युएईको प्रथम अधिवेशन तथा महाशिवरात्रि विशेष शुभकामना एवं सांस्कृतिक कार्यक्रम आज सम्पन्न भएको छ।
प्रवासमा रहेर नेपाली महिला दिदीबहिनीहरूलाई एकताबद्ध गर्दै सामाजिक सेवा, सांस्कृतिक संरक्षण र आपसी सहयोगलाई सशक्त बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो।
समाजकी महासचिव बसन्ती रायमाझीका अनुसार, “प्रदेशमा रहँदा पनि आफ्नो संस्कृति, पहिचान र सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै युएईमा रहेका दिदीबहिनीलाई साथ–सहयोग गर्नु हाम्रो कर्तव्य हो। नेपालमा रहेका दुःखी–पीडितहरूलाई सहयोग गर्नु हाम्रो परम्परा र संस्कारको निरन्तरता हो।
सन् २०२४ देखि स्थापना भई क्रियाशील रहेको समाजले युएईमा रहेका विभिन्न जिल्लाका नेपाली महिलाहरूलाई एउटै साझा मञ्चमा आबद्ध गर्दै आर्थिक सहयोग, सामाजिक सेवा, दुःख–सुखको साझेदारी तथा सांस्कृतिक चाडपर्व मनाउँदै आएको छ। यही अभियानलाई अझ सशक्त बनाउने लक्ष्यसहित प्रथम अधिवेशन मर्यादित र ऐतिहासिक रूपमा सम्पन्न गरिएको हो।
कार्यक्रमको सभापतित्व नव–निर्वाचित अध्यक्ष संगीता अधिकारीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेपाली समाज युएई का अध्यक्ष राम मोक्तान रहनुभएको थियो। विभिन्न सामाजिक, धार्मिक तथा सांस्कृतिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
गुरु अशोक डुम्रे र रामप्रसाद ढकालद्वारा स्वस्तिवाचनसहित प्रमुख अतिथि राम मोक्तानले दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो। नेपाल र युएई दुवै देशको राष्ट्रिय गान बजाइएको थियो। देश तथा समाजका लागि प्राण आहुति दिएका र प्रवासमा असामयिक निधन भएका दिवंगत आत्माको शान्तिका लागि मौनधारण गरिएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य शोभा शर्मा र संगीता थापाले दिनुभएको थियो भने स्वागत नृत्य सारदा पराजुलीले प्रस्तुत गर्नुभएको थियो। सरु रेग्मीले हालसम्म गरिएका आर्थिक तथा सामाजिक सेवाका कार्यहरूको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
दोस्रो चरणअन्तर्गत विविध कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए। महिला सशक्तिकरण, नेपाली संस्कृतिको संरक्षण र सम्मान झल्काउने प्रस्तुतीहरूले कार्यक्रमलाई थप उल्लासमय बनाएको थियो।
प्रथम अधिवेशन सफल बनाउन निर्वाचन समितिको महत्वपूर्ण भूमिका रहेको थियो। संयोजक सिता बराल तथा सदस्यहरू गोपाल पराजुली र शिवराज बास्ताकोटीको निष्पक्ष भूमिकाबाट नयाँ कार्यसमिति चयन गरिएको हो।
कार्यकाल २०२६–२०२८ का लागि निर्वाचित पदाधिकारीहरू:
अध्यक्ष – संगिता अधिकारी
वरिष्ठ उपाध्यक्ष – पूर्णिमा घिसिङ
उपाध्यक्ष – शोभा शर्मा, लक्ष्मी न्यौपाने भुषाल, बिमला मगर, नमिता थापा
महासचिव – बसन्ती रायमाझी
कोषाध्यक्ष – सिता दाहाल
सह–कोषाध्यक्ष – शान्ता विक
सचिव – कल्पना सिग्देल, सुष्मा केसी
प्रवक्ता – सान्ता खनाल
केन्द्रीय सदस्यहरू – दीपा कंडेल, अनिता अधिकारी, लक्ष्मी कार्की, माया भण्डारी, निर्मला कार्की, राधा भुषाल, गंगा सुबेदी, सरु रेग्मी, कल्पना न्यौपाने, गंगा सोनी, लिला रिमाल, मोति अधिकारी, गायत्री थापा, मन्जु कंडेल, तारा खनाल।
निर्वाचित पदाधिकारीहरूलाई खादा, माला तथा प्रमाणपत्र वितरण गरी सपथग्रहण गराइएको थियो।
सहकार्यको प्रतिबद्धता
कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी नेवा:पुच: युएईका महासचिव कुमार बलामीले आगामी दिनमा संस्थागत सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
समाजकी महासचिव बसन्ती रायमाझीले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्तित्वप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ।
समग्रमा, यो कार्यक्रम युएईमा रहेका नेपाली महिलाहरूका लागि गौरवपूर्ण, ऐतिहासिक र प्रेरणादायी दिनका रूपमा स्मरणीय बनेको आयोजकले जनाएको छ।

