जमिन्द्रमान घलेको प्रश्नः पृथ्वी सुब्बा गुरुङ जतिपटक उठे पनि अरू पार्टीलाई किन टाउको दुखाइ ?


लमजुङ। नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा लमजुङ जिल्ला इन्चार्ज जमिन्द्रमान घलेले पृथ्वी सुब्बा गुरुङ नौपटक चुनावमा उठ्दा पनि आफूहरूलाई कुनै समस्या नभएको भन्दै अरूलाई किन “टाउको दुखाइ” भन्ने प्रश्न उठाउनुभएको छ।

लमजुङमा जारी चुनावी अभियानका क्रममा कार्यकर्ताहरूसँग बोल्दै उहाँले पृथ्वी सुब्बा जतिपटक चुनाव लडे पनि एमालेकै विषय भएको बताउनुभयो। “पृथ्वी सुब्बा जतिपटक लडे पनि टाउको दुख्नुपर्ने हामीलाई हो, एमालेलाई हो। हामीले गर्वका साथ उहाँलाई अगाडि बढाइरहेका छौँ,” उहाँले भन्नुभयो, “यसमा अरूलाई किन समस्या?”

घलेले पृथ्वी सुब्बा गुरुङ लमजुङका लागि ‘हेभी वेट’ उम्मेदवार भएकाले लमजुङे जनताको आवाज सुन्ने र त्यसलाई राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा उठाउन सक्ने क्षमता उहाँसँग रहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार अन्य उम्मेदवारहरूको तुलनामा पृथ्वी सुब्बा गुरुङ नै अनुभवी, सक्षम र राष्ट्रले चिनेको नेता भएकाले उहाँलाई जिताउन आवश्यक रहेको बताउनुभयो।

उहाँले लमजुङको समग्र विकास, पूर्वाधार विस्तार र जनताको सरोकारका मुद्दालाई सशक्त रूपमा अघि बढाउन सक्षम नेतृत्व आवश्यक रहेको भन्दै कार्यकर्तालाई सक्रिय भएर चुनावी अभियानमा जुट्न आग्रह गर्नुभयो। काम र एजेण्डाले जित्न नसकेपछि चरित्रहत्यामा विरोधीहरू लागेको उहाँले बताउनुभयो ।