काठमाडौँ। बाल विकास बोर्डिङ हाई स्कुलले भव्यताका साथ विद्यालय महोत्सव ( School Fete) सम्पन्न भएको छ।
विद्यालयमा अध्ययनरत विद्यार्थीद्वारा निर्माण गरिएका विभिन्न प्रकारका प्रोजेक्टहरू प्रदर्शन गरिएको उक्त महोत्सवमा बुढानीलकण्ठ नगरपालिकाका शिक्षा शाखा प्रमुख ललित विक्रम सिंहले आफ्नो गरिमामय उपस्थिति जनाउँदै विद्यालयले शैक्षिक विकासमा हासिल गरेको सफलताको मुक्तकण्ठले प्रशंसा गर्नुका साथै विद्यार्थीहरूलाई उत्प्रेरित गर्नुभएको थियो ।
त्यसैगरी प्याब्सन बूढानीलकण्ठका अध्यक्ष राधेश्याम श्रेष्ठले पनि उक्त महोत्सवको अवलोकन गरी विद्यालयले प्राप्त गरेको सफलताको लागि बधाई ज्ञापन गर्नुभएको थियो । विभिन्न विद्यालयबाट पाल्नुभएका प्रधानाध्यापक ,स्कुल प्रतिनिधि , संस्था प्रतिनिधि तथा विद्वतवर्गलगायत अभिभावकहरूको बाक्लो उपस्तिथिले महोत्सव निकै शोभनीय बनेको थियो ।
आफ्नो स्थापनाकालको बत्तिसौँ वर्षमा सगौरव प्रवेश गरिसकेको र शिक्षालाई सिपसँग जोड्दै आएको बाल विकास बोर्डिङ हाई स्कुलले उक्त महोत्सवमा आकर्षक मोडेलका प्रोजेक्टहरू प्रस्तुत गरेर सबैको मन जितेको थियो ।
शिक्षालाई प्रविधिमैत्री बनाउने क्रममा विद्यार्थीलाई नि: शुल्क रूपमा रोबर्ट सम्बन्धी प्रशिक्षण दिँदै आएको यस विद्यालयका विद्यार्थीले बनाएका आकर्षक मोडेलका रोबर्टहरू पनि महोत्सवमा प्रदर्शन गर्नुका साथै ड्रोन उडाइएको थियो ।
महोत्सवमा विद्यार्थीद्वारा निर्मित फूलका आकर्षक बुकी , प्लास्टिकका बोतलबाट बनाइएका आकर्षक फूलहरू पनि प्रदर्शन गरिएका थिए ।
नेपालका कृषि वैज्ञानिक तथा सिपमूलक शिक्षाका अभियन्ता ध्रुब कुमार श्रेष्ठको सहकार्यमा जीवनोपयोगी सिपमूलक शिक्षा पनि विद्यालयबाट प्रदान गर्दै आएको कुरालाई विद्यार्थीहरूद्वारा बनाइएर महोत्सवमा राखिएका विभिन्न परिकारले पुष्टि गरेका थिए ।
विद्यालयका अतिरिक्त संयोजक सुकमान लामाको संयोजकत्वमा विद्यार्थीद्वारा निर्मित उत्कृष्ट प्रोजेक्टहरूले सजिएका र भरिभराउ भएका टेबलहरूले महोत्सवमा रौनक थपेको कुराप्रति हर्षविभोर हुँदै विद्यालयका संस्थापक अध्यक्ष शङ्करदास श्रेष्ठले अहोरात्र खटेर महोत्सवलाई भव्य र अनुपम बनाइदिनुहुने अतिरिक्त क्रियाकलाप संयोजक सुकमान लामा , विद्यालय संयोजक लक्ष्मण तितुङ ,शिक्षकशिक्षिका , कर्मचारी र विद्यार्थीप्रति कृतज्ञता ज्ञापन गर्नुभएको थियो भने विद्यालयका कार्यवाहक प्रधानाध्यापक दिनेश श्रेष्ठले आगामी दिनमा पनि यस्ता महोत्सवमार्फत विद्यार्थीका प्रतिभा प्रस्फुटनमा विद्यालय सदैव लागिपर्ने वचनबद्धता प्रकट गर्नुभएको थियो ।