काठमाडौं। ट्रेड टावर ग्रुपअन्तर्गतको लगानी कम्पनी भिस्तारा नेपाल लिमिटेडले कृषि–उद्यम मेरो किसान लिमिटेडमा रणनीतिक लगानी गरेको छ।
उक्त लगानीले नेपालको कृषि क्षेत्रमा किसान सशक्तिकरण, आधुनिक कृषि अभ्यासको प्रवर्द्धन तथा कृषि आपूर्ति शृङ्खलालाई थप व्यवस्थित र मजबुत बनाउने अपेक्षा गरिएको छ।
भिस्तारा नेपाल लिमिटेड र मेरो किसान लिमिटेडबीच भएको यस सहकार्यलाई कृषि क्षेत्रमा निजी क्षेत्रको सक्रिय सहभागिताका रूपमा हेरिएको छ। लगानीपछि मेरो किसान लिमिटेडले किसानलाई बीउ, मल, प्रविधि, तालिम तथा बजार पहुँच उपलब्ध गराउने आफ्नो अभियानलाई अझ विस्तार गर्ने जनाएको छ। विशेषगरी साना तथा मझौला किसानलाई लक्षित गरी उत्पादनदेखि बजारीकरणसम्मको सम्पूर्ण शृङ्खलामा सहयोग पुर्याउने योजना रहेको कम्पनीले जनाएको छ।
ट्रेड टावर ग्रुपले दीर्घकालीन सोचसहित कृषि, ऊर्जा, पूर्वाधार र सेवा क्षेत्रमा लगानी गर्दै आएको छ। सोही रणनीतिअनुसार भिस्तारा नेपाल लिमिटेडमार्फत कृषि क्षेत्रमा प्रवेश गरिएको बताइएको छ। समूहका प्रतिनिधिहरूले कृषि क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड भएकाले यसमा गरिएको लगानीले आर्थिक विकाससँगै सामाजिक प्रभावसमेत पार्ने विश्वास व्यक्त गरेका छन्।
मेरो किसान लिमिटेडले किसान र बजारबीचको दूरी घटाउने उद्देश्यसहित डिजिटल प्लेटफर्म, प्रत्यक्ष खरिद प्रणाली तथा मूल्य सुनिश्चितताका कार्यक्रम सञ्चालन गर्दै आएको छ। भिस्तारा नेपाल लिमिटेडको लगानीसँगै कम्पनीले प्रविधिमा आधारित समाधान, भण्डारण तथा प्रशोधन संरचना विस्तार, र देशका विभिन्न जिल्लामा सेवा विस्तार गर्ने योजना अघि सारेको छ।
कृषि विज्ञहरूका अनुसार यस्ता रणनीतिक लगानीले किसानलाई बिचौलियाको निर्भरता घटाउन, उत्पादनको उचित मूल्य पाउन र जोखिम व्यवस्थापन गर्न मद्दत पुर्याउनेछ। साथै, आधुनिक कृषि प्रणालीको प्रयोग बढ्दै जाँदा उत्पादनशीलता वृद्धि हुने र आयातमा निर्भरता कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
दुवै कम्पनीले यो सहकार्यलाई केवल व्यावसायिक लगानीमा सीमित नराखी दीर्घकालीन साझेदारीका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्। आगामी दिनमा संयुक्त रूपमा नयाँ कृषि परियोजना, किसान तालिम कार्यक्रम र नवप्रवर्तनमुखी पहलहरू सुरु गर्ने तयारीसमेत गरिएको छ।
यस रणनीतिक लगानीलाई नेपालको कृषि क्षेत्रमा सकारात्मक परिवर्तनको संकेतका रूपमा लिइएको छ, जसले किसानको जीवनस्तर उकास्न र समग्र कृषि आपूर्ति शृङ्खलालाई दिगो तथा प्रतिस्पर्धी बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।