काठमाडौं । एनआईसी एसिया बैंकको गैरबैंकिङ सम्पत्ति घट्नुको साटो बढेको बढ्यै छ।
चालु आर्थिक वर्ष २०८२।८३ को मंसिर मसान्तसम्ममा एनआईसी एसियाको गैरबैंकिङ सम्पत्ति ४ अर्ब ३९ करोड रुपैयाँ पुगिसकेको छ।
गत आर्थिक वर्ष २०८१।८२ को सोही अवधिसम्म यो रकम ४ अर्ब १४ करोड रुपैयाँ थियो। गत वर्षको तुलनामा गैरबैंकिङ सम्पत्तिमा ६.०४ प्रतिशतको वृद्धि भएको देखिन्छ।
जानकारहरुका अनुसार पछिल्ला वर्षहरुमा बैंक तथा वित्तीय संस्थाले गरेको आक्रामक कर्जा विस्तारको असर अहिले गैरबैंकिङ सम्पत्तिको तीव्र वृद्धिका रुपमा देखिन थालेको हो। एनआईसी एसियाले पनि विगतमा कर्जा विस्तारमा आक्रामक नीति लिएको थियो। तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपाने र बैंक अध्यक्षको गलत नीतिले अहिले यो बैंक समस्यामा परेको हो।
बैंकको गैरबैंकिङ सम्पत्ति घट्नुको साटो बढ्दै जानुले बैंकमा समस्या बढ्दै गएको देखाउँछ। बैंक यतिखेर गैरबैंकिङ सम्पत्ति व्यवस्थापनमा जुटेको छ। बैंकका नयाँ सीईओ सुजित शाक्यले मीहिन ढंगले यस्तो सम्पत्तिको व्यवस्थापन गर्ने भने पनि त्यो निकै गाह्रो देखिएको बैंकका कर्मचारीहरुको अनुभव छ।
कर्जा तिर्न असफल भएका ऋणीबाट जफत गरिएका घर, जग्गा र भवनहरु लिलामीमार्फत बिक्री गर्ने प्रयास पटक–पटक असफल भइरहेको छ। यसले गर्दा एनआईसी एसियालाई अरु बैंकलाई जस्तै गाह्रो भएको हो।
गैरबैंकिङ सम्पत्ति बढ्दै जाँदा बैंकका सञ्चालक र व्यवस्थापन तहमा पनि दबाब बढेको छ। लिलामी सूचना पटक–पटक सार्वजनिक गर्दा पनि खरिदकर्ता नपाइनु, घरजग्गा बजार सुस्त रहनु र समग्र अर्थतन्त्रको गति कमजोर हुनुले ती सम्पत्तिलाई नगदमा रुपान्तरण गर्न कठिन बनाएको बैंकका प्रतिनिधिहरुको भोगाइ छ।
बैंकले गैरबैंकिङ सम्पत्ति व्यवस्थापनलाई प्राथमिकतामा राख्दै असुली प्रक्रिया तीव्र बनाउने, धितो सम्पत्तिको मूल्यांकन सुधार गर्ने र बजारमार्फत बिक्री प्रक्रिया सहज बनाउने रणनीति अघि सार्न सकेको छैन। यसले गर्दा बैंकको पफर्मेन्स सुध्रनुको साटो खस्कने दिशामै रहेको बैंकरहरु बताउँछन्। अहिले बैंकले स–साना कर्जा विस्तारमा ध्यान दिएको छ। नयाँ सीईओ शाक्यले कर्जा विस्तारमा भन्दा असुलीमा ध्यान दिनुपर्नेमा त्यसतर्फ चासो नदिएको बैंकका कतिपय कर्मचारीहरु बताउँछन्।
शाक्यले पनि न्यौपानेले जस्तै संस्थागत निर्णयभन्दा अध्यक्ष र सञ्चालक समितिको प्रभावमा बढी पर्न थालेको गाइँगुइँ बैंकभित्र बढ्दो छ। एनआईसी एसियामा खराब कर्जा वा बाह्य आर्थिक मन्दीमात्र बढेको हैन, अन्य समस्या पनि उत्तिकै छन्। पछिल्लो समय बैंकले ग्राहकसँग पनि सम्बन्ध बिगारिरहेको छ। जसले गर्दा प्रायः सबैतिर बैंकविरोधी भावना बढ्दो क्रममा रहेको देखिन्छ। चर्को ब्याज असुल्नेदेखि लिलामीमा मात्र ध्यान दिने बैंकको बानीले पनि बैंकिङ विश्वसनीयता खस्काएको जानकारहरु बताउँछन्।