एनआरएनएद्वारा प्रहरीबृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण


काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्गस्थित प्रहरीबृत्तलाई १० थान ब्यारिकेड हस्तान्तरण गरेको छ ।संघका अध्यक्ष डा. बद्री केसीले शुक्रबार दरबारमार्गमा आयोजित एक कार्यक्रममा बृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीलाई हस्तान्तरण गरेका हुन ।

गत भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा उक्त प्रहरी बृत्तमा पनि क्षति पुगेको थियो । कार्यक्रममा अध्यक्ष डा. केसीले आन्दोलनका क्रममा भएको क्षतिलाई पूर्णरुपमा पूर्ति गर्न नसके पनि केही हदसम्म सहयोग होस् भन्ने हेतुले ब्यारिकेड प्रदान गरिएको उल्लेख गरे । उनले यसअघि पनि महानगरीय प्रहरीबृत्त रानीपोखरीमा फर्निचर सहयोग गर्नुका साथै उपत्यका ट्राफिक प्रहरी कन्ट्रोलरुम रामशाह पथमा अत्याधुनिक उपकरणहरु सहयोग गरेको स्मरण गराउँदै एनआरएनएले सामाजिक कार्यमा जहिले पनि नेपाल प्रहरीसँग सहकार्य गर्दै आएको बताए ।