उज्यालो नेपाल पार्टीद्वारा रुपन्देहीमा २१ सदस्यीय जिल्ला समिति गठन


रुपन्देही। नवगठित उज्यालो नेपाल पार्टी (उनेपा) ले बुटवलको देवासिद्ध चोकमा आज आयोजित औपचारिक कार्यक्रममार्फत २१ सदस्यीय कार्यवाहक जिल्ला समिति गठन गरेको छ।

पार्टीको संगठन विस्तार अभियानअन्तर्गत सम्पन्न उक्त कार्यक्रममा उस्मान अलीलाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको छ।

जिल्ला समितिको सहसंयोजकमा शिव काफ्ले, बिमला बिक र गणेश थापा (उबिर) चयन भएका छन्। कार्यक्रममा पार्टीका केन्द्रीय नेता किरण बिक प्रमुख अतिथिका रूपमा सहभागी थिए भने डा. माधव थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा उज्यालो नेपाल पार्टीका करिब १६० जना शुभेच्छुक तथा समर्थकहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले नयाँ राजनीतिक दलको उदयलाई सकारात्मक रूपमा स्वागत गर्दै विशेष गरी युवाहरूको उल्लेखनीय आकर्षण देखिएको प्रतिक्रिया दिएका छन्। कार्यक्रममा युवा, महिला, किसान, इन्जिनियरलगायत विभिन्न पेशागत क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रमुख अतिथि किरण बिकले आफ्नो मन्तव्यमा उज्यालो नेपाल पार्टी नै राष्ट्रको नेतृत्व गर्न सक्षम पार्टी भएको दाबी गर्दै सबै नागरिकलाई समान अवसर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले समावेशी, अवसर–न्याययुक्त र भविष्यकेन्द्रित राजनीतिक अभ्यास उनेपाको मूल लक्ष्य रहेको बताए।


एक महिनाअघि मात्र गठन भएको उज्यालो नेपाल पार्टीलाई आगामी दिनमा प्रभावशाली राजनीतिक शक्तिका रूपमा विकास हुने अपेक्षा गरिएको छ। कार्यक्रममा सहभागीहरूबाट पार्टीप्रति अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त भएको आयोजकले जनाएको छ।