काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले चिया तथा कफी विकास बोर्डले आफ्नो उद्देश्यानुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् । ‘ २८ औं राष्ट्रिय चिया दिवस – २०८१ ’ को अवसर पारेर आज राजधानी काठमाडौंको कीर्तिपुरमा आयोजित एक कार्यक्रममा मन्त्री साहले यस्तो असन्तुष्टि जनाएकी हुन् । भत्ता र सरुवा, बढुवाको माग गर्ने बोर्डले मुलुकको निर्यात व्यापारलाई बढावा दिने गरी चिया तथा कफीको गुणस्तरीय उत्पादनमा जोड दिनु पर्ने मन्त्री साहले बताइन् । ६० हजारभन्दा बढी मानिसहरुलाई रोजगारी दिने चिया तथा कफी क्षेत्रले मुलुकको समृद्धिमा योगदान दिन सक्ने भएकाले सोहीअनुसार काम गर्नु पर्ने मन्त्री साहले औँल्याइन् । मन्त्री साहले राष्ट्रिय चिया दिवस चिया बगानमा नै मनाउन आवश्यक रहेकामा जोड दिइन् । मन्त्री साहले काठमाडौंको हलमा कार्यक्रम आयोजना गरिएकामा पनि असन्तुष्टि व्यक्त गरिन् ।
इलाम वा झापाको चिया बगानमा सो कार्यक्रम आयोजना गरेको भए धेरै राम्रो हुने मन्त्री साहको भनाइ छ ।‘आज यो कार्यक्रम एउटा हलमा सीमित छ । मलाई पनि कताकता खुल्दुली लागिरहेको छ, यो कार्यक्रम इलामको कुनै बगानमा गर्नु पर्थ्यो, अथवा झापाको कुनै बगानमा गर्नु पर्दथ्यो’, मन्त्री साहले भनिन्,‘चिया बगानमा गर्दा अझ बेटर हुन्थ्यो कि भन्ने मलाई लागेको छ ।’ मन्त्री साहले देशलाई समृद्ध बनाउन कृषि क्षेत्रले महत्त्वपूर्ण योगदान दिने भएकाले त्यसमा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने हिम्मत गर्न व्यवसायीलाई आग्रह गरिन् । यस्तै, कार्यक्रममा बोर्डका निमित्त कार्यकारी निर्देशन डा. दीपक खनालले इलाममा उपनिर्वाचन भएको र त्यसको प्रभाव झापा, पाँचथरलगायत जिल्लाहरूमा पनि पर्ने उल्लेख गरे । सोही कारण यसपटक सो क्षेत्रमा गएर राष्ट्रिय चिया दिवस मनाउन नसकिएको खनालले स्पष्टीकरण दिए ।