“बालखैमा दिल बस्यो गौथली २” गीत सार्वजनिक, आलोक चौरेली र आयुषा ढकालको अभिनय


निराज रानाभाट, काठमाडौं । पहिलो भाग ( ६ वर्ष अगाडि ) ले युट्युबमा ६ करोडभन्दा बढी भ्यूज बटुल्दै सर्वत्र चर्चा कमाएपछि बालखैमा दिल बस्यो गौथलीको दोस्रो संस्करण ‘ बालखैमा दिल बस्यो गौथली २ ’ आधिकारिक रूपमा सार्वजनिक भएको छ ।

दर्शकहरुको निरन्तर माया र सकारात्मक प्रतिक्रियाले निर्माण टोलीलाई दोस्रो श्रृंखला तयार गर्न प्रेरित गरेको बताइन्छ । यसपटक पनि गीतमा बाल गायक निश्चल अधिकारीको आवाज, दीपक शर्माको शब्द तथा संगीत र नरेन्द्र वियोगीले गरेको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

 

त्यसैगरी, उक्त गीतको भिडियोमा आलोक चौरेली र आयुषा ढकालको अभिनयले कथा अझै जीवन्त बनेको छ । भिडियोलाई गाउँको सीमाबाट शहरको भीडभाडमा प्रवेश गर्ने एक बालकको संघर्ष यात्रामा केन्द्रित गरिएको छ । शहरमा पुगेपछि उसले भोग्नु परेको कष्ट, असहजता र उसको हिम्मत टुट्दै गएको अवस्थामा उस्तै उमेरकी आयुषीले देखाएको सहयोग र प्रेरणाले कथामा मानवीय संवेदना थपेको छ । यहीँ यथार्थ र सन्देशलाई लोकप्रिय युवा निर्देशक प्रहील कार्कीले कलात्मक तथा कथन – शैलीसहित दृश्यमा उतारेका छन् ।

राजधानी काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको भिडियो राजेश घिमिरेले मुख्य रूपमा खिचेका हुन्, भने केही दृश्य योगेन थापाले सम्हालेका छन् । सम्पादन माधव वेल्वासेको प्रस्तुतिमा भिडियोलाई सशक्त रूप प्रदान गरिएको छ । गीत सार्वजनिकसँगै संगीतकार दीपक शर्माले यस कृतिले समाजमा सकारात्मक ऊर्जा र प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । उक्त गीतको भिडियो आधिकारिक रूपमा निश्चल अधिकारीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

भिडियो :