हरेक वर्ष २४ मार्चमा मनाइने विश्व क्षयरोग दिवसको पुर्व सन्ध्यामा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले आज २२ मार्च शुक्रबारका दिन मनाउँदै छ। २४ मार्चमा होलि पर्व परेको यस विश्वव्यापी जनस्वास्थ्य समस्याको बारेमा सचेतना जगाउने कार्यमा सहयोग पुर्याउनु हुन सम्पूर्ण सबैलाई जानकारी गराइएको छ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले विश्व क्षयरोग दिवस २०२४ लाई 'हो! हामी क्षयरोग अन्त्य गर्छौं!' ('Yes! We can End TB!') भन्ने मूल नाराका साथ् २२ मार्च, २०२४ का दिन भव्यताका साथमा मनाउने घोषणा गरेको छ। साथै क्षयरोगको महामारीलाई अन्त्य गर्न राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र दृढ संकल्पका साथ प्रतिबद्ध छ।
जनस्वास्थ्य, सामाजिक र आर्थिक विकासका लागि क्षयरोग गम्भीर समस्याको रूपमा रहनु नेपालका लागि चिन्ताको बिषय हो। विश्व स्वास्थ्य संगठनका अनुसार आ. व. २०७९/२०८० मा नेपालमा ७०,००० नयाँ क्षयरोगका बिरामीहरु थपिने र १८,००० व्यक्तिहरुको मृत्यु हुने अनुमान गरिएको थियो। सोही अवधिमा राष्ट्रिय क्षयरोग कार्यक्रमले कुल ३७,४४७ क्षयरोगका बिरामीहरू दर्ता गरेको छ, जसमा ३५% महिला र ६५% पुरुष छन्। यी बिरामीहरु मध्ये ७२% फोक्सोका बिरामीहरु र २८% फोक्सो बाहेक अन्य अंगमा लाग्ने क्षयरोगका बिरामीहरु थिए ।
आ. व. २०७९/२०८० मा भौगोलिक रूपमा, तराई क्षेत्रमा ६०.०% क्षयरोगका बिरामीहरू दर्ता गरिएका थिए भने प्रादेशिक स्तरमा ६८.०% बिरामीहरु मधेस, वाग्मती र लुम्बिनी प्रदेश गरी यी ३ प्रदेशहरुमा दर्ता भएका थिए। साथै उक्त अवधिमा क्षयरोग रोकथाम उपचार (TB Preventive Treatment) कार्यक्रम लागु भएका ४२ जिल्लाहरुमा क्षयरोग बिरामीहरुको घरपरिवारको सम्पर्कमा रहेका पाँच वर्ष मुनिका ३६५८ योग्य बालबालिकाहरूले क्षयरोग रोकथाम उपचार प्राप्त गरेका थिए ।
विश्वमा औषधि प्रतिरोधी क्षयरोग (Drug Resistant Tuberculosis) को उच्च भार भएका ३० देशहरु मध्ये नेपाल पनि पर्नु चिन्ताको विषय हो। सोही आ.व. मा २,९०० व्यक्तिहरुमा औषधि प्रतिरोधी क्षयरोग विकास हुने अनुमान गरिएकोमा ६९३ बिरामीहरू निदान गरिएका थिए, जसमध्ये ५४६ बिरामीहरु उपचारको दायरामा आएका थिए1
आ.व. २०७९/२०८० मा Drug Susceptible क्षयरोगका बिरामीहरुको उपचार सफलता दर (Treatment Success Rate) ९२.४ % थियो। त्यसैगरी औषधी प्रतिरोधी क्षयरोग (Drug Resistant) का बिरामीहरुको उपचार सफलता दर ८२० % रहेको थियो, जुन तुलनात्मक रुपमा विश्वका अन्य देशहरुमध्ये उच्च हो। नेपालमा क्षयरोगको उच्च जोखिम समूहमा कुपोषित व्यक्तिहरु, एच.आई.भि संक्रमितहरु, मधुमेह भएका व्यक्तिहरु, धुम्रपान गर्ने र मदिरा सेवन गर्ने व्यक्तिहरु पर्दछन् ।
यी चुनौतीहरूका बाबजुद पनि नेपालले क्षयरोग रोकथाम, निदान र उपचारमा उल्लेखनीय प्रगति हासिल गरेको छ। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले, साझेदार र सरोकारवालाहरूसँगको सहकार्यमा क्षयरोगका सेवाहरूमा पहुँच विस्तार गर्न, निदान क्षमताहरू सुदृढ गर्न र उपचार परिणामहरू सुधार गर्न अथक प्रयास गर्दै आएको छ। हाल राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले स्थानीयतहहरुको नेतृत्व तथा अपनत्व विकास गरी क्षयरोग अन्त्यको प्रयासहरुलाई दिगो रुपमा गति दिने उद्देश्यले 'क्षयरोग मुक्त नेपाल अभियान' को शुरुवात गरेको छ।