अहिले नाफामा कमी आए पनि आगामी वर्षमा वृद्धि हुनेछ: कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य


काठमाडौँ। नेपाल विद्युत प्राधिकरणको नाफा घटेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको नाफामा गिरावट आएको हो।

प्राधिकरणका अनुसार आ.व. २०८१/८२ मा नाफा ९ अर्ब ६ करोड ७० लाख भएको छ। २०८०/८१ मा १० अर्ब ५३ करोड नाफा कमाएको थियो। आ.व. २०८०/८१ को तुलनामा आ.व. २०८१/८२ मा ३७.३२ प्रतिशतले कम हो।

खासगरी कुलमान घिसिङले विद्युत प्राधिकरणको नेतृत्व सम्हाले यता प्राधिकरणले नाफा बनाइरहेको थियो। तर, कुलमानलाई सरकारले बर्खास्त गरेसँगै नाफासमेत घटेको देखिएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गत वर्षको तुलनामा विदेशी मुद्रा जापानी येनमा भएको अधिमूल्यनदेखि प्रशासनिक खर्च वृद्धि एवं औसत विद्युत बिक्री मूल्यमा कमी आएका कारणले नाफामा केही कमी देखिएको बताए।

अहिले नाफामा कमी आए पनि आगामी वर्षमा वृद्धि हुने उनको दाबी छ।

उनले भने, ‘गत वर्षको तुलनामा विदेशी मुद्रा जापानी येनमा भएको अधिमुल्यन आदि कारणले अडाई अर्ब नोक्सान भएको छ।

डेडिकेटेड तथा नेपाल सरकारसँग बाँकी रहेको बक्यौताको प्रभोनिजिङ गरेवापत साढे ५ अर्ब नोक्सानी भएको छ। प्रशासनिक खर्च वृद्धि एवं औसत विद्युत बिक्री मूल्यमा कमी आएका कारणले नाफामा केही कमी देखिएको छ। तर जुन आगामी वर्षमा वृद्धि हुने देखिन्छ।’

प्राधिकरणका अनुसार नेपालको आन्तरिक विद्युत खपत अघिल्लो आर्थिक वर्षको तुलनामा १०.७ प्रतिशतले वृद्धि भई ११ हजार ३ सय १९ गिगावाट घण्टा पुगेको थियो।

आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो आवको तुलनामा ४.६ प्रतिशतले वृद्धि भई ५७ करोड १ लाख पुगेको छ। राष्ट्रिय ग्रिड पहुँच करिव ९८ प्रतिशत पुगेको छ भने विद्युत चुहावटमा ०.४७ प्रतिशत कमी आएको छ।

प्राधिकरणको कुल सम्पत्ति २०८१/८२ मा ६ खर्ब ८४ अर्ब ९१ करोड पुगेको छ। आर्थिक वर्षको २०८१/८२ मा प्राधिकरणको प्रणालीमा कुल ४३४ मेगावट विद्युत उत्पादन क्षमता थप भएको छ। जसमा प्राधिकरण अन्तर्गतका कम्पनीका साहयक कम्पनीहरुको योगदान १५३.५ मेगावाट छ भने २९०.५ मेगावाट छ।