काठमाडौं। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको अध्यक्षमा शिवसागर शर्मा निर्वाचित भएका छन्। शनिबार आयोजित ७औं महाधिवेशनमा भएको निर्वाचनमा शर्माले ३ सय २३ मत ल्याएर निर्वाचित बनेका हुन्।
महासंघको वरिष्ठ उपाध्यक्षमा मातृका शिवाकोटी, उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ, बुद्घिप्रसाद अधिकारी र सरोज मास्के निर्वाचित भएका छन्।
त्यस्तै महासचिवमा विष्णुप्रसाद पौडेल, उप–महासचिवमा अर्जुनकुमार आचार्य, कोषाध्यक्षमा ताराराम श्रेष्ठ, सचिवमा महेश शर्मा र शंभु लामिछाने निर्वाचित भएका छन्। त्यस्तै महिला सचिवमा कोपिला गिरी तथा सह कोषाध्यक्षमा रबिन बराल निर्वाचित भएका छन्।
राजधानीमा शुक्रबार र शनिबार भएको महाधिवेशनले लेखा समिति संयोजकमा कृष्णराम कार्कीलाई निर्वाचित गर्दै ३८ जनाको कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित अध्यक्ष शर्माले आफ्नो कार्यकालमा महासंघको गरिमा बढाउँदै व्यवसायीका समस्या समाधानका लागि प्रयास गर्ने बताए।