यही भदौ २ र ३ गते, हिन्दुकुश हिमालय सांसदहरूको सम्मेलन काठमाडौंमा हुदै


काठमाडौं-संघीय संसद अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सोमबार एक पत्रकार सम्मेलन गरी हिन्दुकुश हिमालय सांसदहरूको सम्मेलन–२०२५ को आयोजना सम्बन्धी जानकारी गराएको छ।

सम्मेलन यही भदौ २ र ३ गते (अगस्ट १८ र १९, २०२५) काठमाडौंको सोल्टी होटलमा हुने भएको छ। समितिका अनुसार सम्मेलनमा नेपाल, भारत, चीन, बंगलादेश, भुटान, म्यानमार र पाकिस्तानका सांसदहरू सहभागी हुनेछन्।

जलवायु परिवर्तन, वातावरण प्रदूषण र जैविक विविधता संरक्षणजस्ता साझा चुनौतीहरूबारे छलफल गर्नका लागि सम्मेलन आयोजना गरिएको हो।

कार्यक्रम राष्ट्रपतिको प्रमुख आतिथ्यतामा तथा सभामुखको विशिष्ट आतिथ्यतामा सम्पन्न हुने बताइएको छ।

सम्मेलनको आयोजना संघीय संसदको समितिले सभामुखसँगको परामर्शमा, वन तथा वातावरण मन्त्रालय, परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोगको समन्वयमा तथा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रको प्राविधिक सहयोगमा गर्न लागेको हो।

कार्यक्रमबारे जानकारी दिँदै समितिले हिन्दुकुश हिमालय क्षेत्र जलवायु परिवर्तन, जैविक विविधताको क्षति र प्रदूषणका कारण गम्भीर संकटमा परेको उल्लेख गरेको छ।

तीव्र सामाजिक–आर्थिक परिवर्तनका कारण मानव जीवन, पारिस्थितिक प्रणाली तथा प्राकृतिक स्रोतहरूमा प्रतिकूल असर परेको समितिको भनाइ छ।

यसै सन्दर्भमा, सम्मेलनको मुख्य उद्देश्य सांसदहरूबीच संवाद, समन्वय र अनुभव साटासाटका माध्यमबाट नीति निर्माण र दिगो विकासका लागि साझा रणनीति तय गर्नु रहेको छ।

कार्यक्रमले क्षेत्रीय सहयोगका माध्यमबाट साझा चुनौतीहरूको समाधानका उपाय पहिचान गर्न मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ।