काठमाडौं। सेयर बजार सूचक नेप्से ६ कारोबार दिनघटेपछि सातौं दिनमा सकारात्मक बनेको छ । पछिल्ला ६ कारोबार दिनमा नेप्से ९७.४६ अंकले घटेको नेप्से सोमबार भने १३.२८ अंकले उकालो लागेको हो । सोमबारको वृद्धिसँगै बजार मापक नेप्से १९९२.३० बिन्दुमा पुगेको छ । यसदिन सेन्सेटिभ इण्डेक्स २.१४ अंक, फ्लोट इण्डेक्स ०.८० अंक, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६१ अंक बढेको छ ।
कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये १० ओटा बढ्दा ३ ओटा घटेको छ । फाइनान्स लघुवित्त र म्युचुअल फन्डको इन्डेक्स सामान्य घटेको छ । आज उत्पादन तथा प्रशोधनमुलक सर्वाधिक २.५१ सर्वाधिक प्रतिशतले बढेको छ भने होटल तथा पर्यटनमुलक १.४५ प्रतिशत, जलविद्युत १.३६ प्रतिशत र ब्यापारको इन्डेक्स पनि १.३४ प्रतिशतले बढेको छ ।
सोमबार ३१४ कम्पनीको ५९ लाख ८८ हजार ७१७ कित्ता सेयर ४९ हजार ९४० ओटा संख्याबाट २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६० रुपैयाँमा खरिद बिक्री भएको छ । आइतबार ३१७ कम्पनीको ८५ लाख ४६ हजार कित्ता सेयर ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो । अघिल्लो दिनको तुलनामा आज दैनिक कारोबार रकम १ अर्ब ६ करोड ९२ लाख रुपैयाँले घटेको हो ।
दिनभर तीव्र उतार चढावपूर्ण रहेको नेप्से अन्तिम २० मिनेटमा बढेको हो । लगानीकर्ताको मनोबल कमजोर रहँदा बजारमा कारोबार रकम भने खुम्चिएको हो । सोमबार कारोबारमा आएका ३१४ कम्पनी मध्ये १९८ ओटाको सेयर मूल्य बढेको छ भने १०२ ओटाको मूल्य घटेको छ । १४ कम्पनीको मूल्य स्थीर रहेको छ ।
सोनापुर मिनरल्स एण्ड आयल कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ । कम्पनीको ९ करोड ७१ लाख ८० हजार रुपैयाँको २ लाख २८ हजार १६ कित्ता सेयर खरिद बिक्री भएको छ । यस्तै हिमालयन रि इन्स्योरेन्सको ७ करोड ७५ लाख, शिवम् सिमेन्टको ६ करोड ६७ लाख, गोर्खाज फाइनान्सको ६ करोड २६ र सन् नेपाल लाइफको ६ करोड १८ लाख बढीको कारोबार भएको छ ।