साउन १५: जब खीर पाक्छ, संस्कार बोल्छ


ललितपुर । साउन १५ नेपाली समाजमा स्वाद, संस्कार र स्नेहको अनुपम संगमको दिन हो।

परम्परागत रूपमा ‘ खीर खाने दिन ’ भनेर चिनिने यो पर्व अब औपचारिक रूपमा ‘ राष्ट्रिय खीर दिवस ’ को रूपमा पनि मनाइँदै आएको छ।

नेपालको मौलिक संस्कृतिमा गहिरो जरा गाडेको यस पर्वले परिवार, परिकार र परम्पराको मधुर सम्झना दिलाउँछ ।

नेपालको कृषि चक्र र पारिवारिक जीवनशैलीसँग गाँसिएको यो दिन वर्षभरका श्रमजीवी कृषकहरूको विश्राम, सामाजिक पुन:र्मिलन र संस्कारप्रतिको श्रद्धा एकैसाथ पोखिने अवसर हो।

विशेषतः असारभर रोपाइँमा व्यस्त रहने किसानहरूका लागि साउन १५ केवल स्वादको होइन, सास फेर्ने विश्रामको दिन पनि हो ।

खीर पकाउने, सँगै खाने र खुशी साट्ने यो परम्परा भावनात्मक पुन:र्मिलनको सशक्त उदाहरण हो ।

दूध र चामलजस्ता सात्त्विक तत्वहरूबाट बनाइने खीरलाई धार्मिक, सांस्कृतिक र स्वास्थ्यका दृष्टिले विशेष महत्व दिइन्छ । हिन्दू धर्मशास्त्रमा यी पदार्थहरू शुद्धता र मानसिक सन्तुलनका प्रतीक मानिन्छन् ।

खीरलाई भगवानलाई अर्पण गर्ने परम्पराले यो परिकार केवल स्वादमा होइन, श्रद्धामा पनि समर्पित भएको प्रमाण दिन्छ ।समाजशास्त्रीय दृष्टिकोणले हेर्दा, साउन १५ जस्ता पर्वहरूले परिवार र समुदायलाई नजिक ल्याउने, पीढीबीचको संवादलाई जीवित राख्ने र सांस्कृतिक निरन्तरतालाई बलियो बनाउने काम गर्छन् । खीर पकाउने, बाँड्ने र सँगै खाने अभ्यासले आत्मीयता, सहिष्णुता र साझेदारीलाई पुनः उजागर गर्छ ।

खीरको कचौरामा मिसिएको स्मृति, स्वाद र सन्देश
यस दिन बिहानैदेखि घर – घरमा दूध, चामल, चिनी, घिउ र मसला मिसाएर पाकाइने खीर केवल परिकार होइन, सांस्कृतिक सम्प्रेषणको स्वादिलो माध्यम हो ।

खीर पकाउने क्रममा देखिने सहभागिता र खाने क्रममा सँगै बिताइने समयले साउन १५ को आत्मालाई परिभाषित गर्छ ।

असार १५ को दही र चिउरा, माघ १ को घ्यू तथा चाकु, तिहारको सेलरोटी जस्तै, साउन १५ को खीर पनि मौसम, कृषि चक्र र सामाजिक बन्धनसँग गाँसिएको मौलिक पर्व हो ।

परम्परा, प्रकृति र परिवारको सेतु
कृषक वर्गहरुका लागि साउन १५ विश्रामको प्रतीक हो । असारभर हिलो, पानी र श्रममा बितेको समयपछि यो दिन परिवारसँग खीर खाँदै सास फेर्ने अवसर हो । परम्पराले दिएको त्यो सास फेर्ने क्षणलाई स्वादमा रूपान्तरण गराउने परिकार नै हो – खीर ।

मेलमिलाप र आत्मीयताको अवसर
साउन १५ को खीर टाढिएका आत्माहरूलाई नजिक ल्याउने भावनात्मक सेतु पनि हो । छिमेकी, आफन्त र साथीहरूबीच खीर बाँड्ने चलनले सामाजिक सद्भाव बलियो बनाउँछ । यो दिन केवल खानाको लागि होइन, मन भेट गर्ने दिन पनि हो ।

धार्मिक, आध्यात्मिक र सांस्कृतिक महत्व
दूध र चामल हिन्दू धर्मशास्त्रमा सात्त्विक ( शुद्ध ) पदार्थ मानिन्छ । खीरलाई भगवानलाई चढाउने प्रसादको रूपमा अर्पण गरिन्छ । पशुपतिनाथ, स्वयम्भू, मनकामनालगायतका मन्दिरहरूमा यस दिन विशेष पूजा गरी खीर अर्पण गर्ने चलन छ । यसरी यो पर्व आध्यात्मिक भावनासँग पनि गहिरो रूपमा गाँसिएको छ ।

राष्ट्रले दिएको मान्यता : ‘राष्ट्रिय खीर दिवस’
वि.सं. २०७७ फागुन १५ गते राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई ‘ राष्ट्रिय खीर दिवस ’ घोषणा गरेको हो । यो घोषणा केवल एक परिकारको सम्मान होइन, नेपाली संस्कृति र परम्पराको औपचारिक पुनर्:स्थापना पनि हो । यसले मौलिक परिकारहरूको संरक्षणका साथै घरेलु उत्पादन र आहार – संस्कृति प्रवर्द्धन गर्ने सरकारको अभिप्राय पनि झल्काउँछ ।

खीरका पोषण र स्वास्थ्य पक्ष
दूध र चामलबाट बन्ने खीरमा प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, भिटामिन बी, कम्प्लेक्सजस्ता आवश्यक पोषक तत्त्वहरू पाइन्छन् । खीरले हड्डी र दाँत बलियो बनाउने, सजिलै पच्ने, मानसिक सन्तुलन दिने र रोग प्रतिरोधात्मक क्षमता बढाउने गुण हुन्छ । परिवारसँग सँगै बसेर खीर खाने वातावरणले मानसिक तनाव घटाउँछ र आपसी प्रेम बलियो बनाउँछ ।

परम्परा संरक्षणको सन्देश
पश्चिमी संस्कृति र विदेशी पर्वहरूको चकचकबीच हाम्रो मौलिक चाड / पर्वहरू ओझेलमा पर्दै गएका छन् । साउन १५ को खीर खाने परम्परा मातृभूमिप्रतिको प्रेम, संस्कारप्रतिको सम्मान र आत्मीयताको पुनःजागरण हो । हामीले बचाउन नसके, भोलिका पुस्ताले बुझ्न, चाख्न र महशुस गर्न पाउने छैनन् ।

साउन १५ को खीर एक सधैँ सास फेर्ने परिकार हो – जहाँ पाक्छ प्रेम, उम्लन्छ सम्झना, अनि पोखिन्छ परम्परा ।
खीर खाऔँ, संस्कार जोगाऔँ, आत्मीयता बाँडौं ।