नाइमा नेपाल मोबिलिटी एक्स्पो साउन २१ देखि हुँदै, नयाँ माेडलका सवारी साधनको सार्वजनिक हुने


काठमाडौँ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले पहिलो पटक आयोजना गर्न लागेकाे ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ भव्य हुने दाबी गरेको छ।

सोमबार काठमाडौँको सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत एक्स्पोको औपचारिक घोषणा गरिएको हो।

एक्स्पो आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुनेछ। प्रदर्शनीमा १५ ओटा दुईपांग्रे, १५ ओटा चारपांग्रे र ५ ओटा व्यावसायिक सवारीसाधनसहित कुल ३५ नयाँ माेडल सार्वजनिक गरिने नाइमाका मेला संयाेजक शिरीष कुमार मराबले जानकारी दिए ।

नाइमा अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो नेपालमै अहिलेसम्मको सबैभन्दा ठूलो र समावेशी अटो प्रदर्शनी हुने विश्वास व्यक्त गर्दै, यसले भविष्यको दिगो, प्रविधिमैत्री यातायात प्रणालीको दिशामा नयाँ सोच र सम्भावना ल्याउने बताइन्।

पत्रकार सम्मेलनमा नाइमाका कार्यकारी निर्देशक राजकुमार दलालले कार्यक्रम सञ्चालन गरेका थिए भने एसपी समितिका सदस्य गौरव सारडाले उद्घाटन मन्तव्य राख्दै लक्ष्य, दृष्टिकोण र विशेषताबारे जानकारी गराएका थिए।

कार्यक्रममा प्रमुख प्रायोजक एभरेष्ट बैंक लिमिटेडका सहायक महाप्रवन्धक विष्णु प्रसाद ज्ञवाली र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नभनीत गुप्ताले प्रविधिमैत्री र दिगो यातायात प्रणालीको विकासमा सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

एक्स्पोका अन्य साझेदारहरूमा खल्ती बाई आईएमई (टिकेटिङ पार्टनर), माउण्टेन ड्यू (बेभरज पार्टनर), हिमालयन जाभा (ब्रुइङ पार्टनर), पठाओ (राइड पार्टनर), एचआईके भिजन (सर्भेलेन्स पार्टनर), वर्ल्ड लिङ्ग (कनेक्टिभिटी पार्टनर), सोल्टी होटल (हस्पिटालिटी पार्टनर), फ्रन्टलाइन हस्पिटल (मेडिकल पार्टनर), एनसेल (टेलिकम पार्टनर) र मिडिया स्पेस सोल्युशन (म्यानेजमेन्ट पार्टनर) रहेका छन्।

प्रदर्शनीका लागि राइड पार्टनर पठाओले भृकुटीमण्डप गन्तव्यमा आउने–जाने यात्रामा ३० प्रतिशतसम्मको छुट प्रदान गर्नेछ। साथै, फ्रन्टलाइन हस्पिटलले चौबीसै घण्टा एम्बुलेन्ससहित आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ।

नाइमाले एक्स्पोलाई लक्षित गर्दै अनलाइन भिडियो प्रतियोगिता पनि आयोजना गर्ने भएको छ। सहभागीहरूले नाइमा अटो एक्स्पोसँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्न सक्नेछन्। उत्कृष्ट भिडियो बनाउने एक जनालाई नगद १ लाख रुपैयाँ र साउन २१ देखि २५ सम्म पोस्ट गरिएका १० उत्कृष्ट भिडियोलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।