काठमाडौं । अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस २०२४ अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ एवम् संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष/प्रतिनिधि तथा अन्तर्राष्ट्रिय श्रम संगठनका नेपाल कार्यालयका निर्देशक/प्रतिनिधि सहित सरोकारवालाहरुको सहभागितामा सामाजिक न्यायका लागि विश्वव्यापी साझेदारी (Global Coalition for Social Justice) विषयक त्रिपक्षीय अन्तरक्रिया तथा परामर्श कार्यक्रम मन्त्रालयमा सम्पन्न भयो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशक र नेपाल कार्यालयका निर्देशक नुमान ओज्कानद्वारा नेपाल सरकारलाई सामाजिक न्यायका लागि विश्वव्यापी साझेदारी (Global Coalition for Social Justice) मा सहभागी हुन गर्नुभएको आमन्त्रणका विषयमा महत्वपूर्ण छलफल भयो।
उक्त साझेदारीमा नेपालको सहभागिता सम्बन्धमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका तर्फबाट अध्यक्ष श्री योगेन्द्र कुमार कुँवर तथा नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट अध्यक्ष श्री चन्द्र प्रसाद ढकालद्वारा सकारात्मक धारणा प्रस्तुत भएको थियो भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तर्फबाट सचिव श्री केवल प्रसाद भण्डारीले सामाजिक न्यायको क्षेत्रमा नेपालले हालसम्म गरेका प्रयास, साझेदार निकायसँगको सहकार्य एवम् नेपालमा सामाजिक न्याय स्थापनाका लागि विश्वव्यापी साझेदारीको महत्वका विषयमा मन्त्रालयको तर्फवाट धारणा राखुभयो।
माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री शरत सिंह भण्डारीज्यूले सम्बोधनका क्रममा अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १११ औं सत्रमा सामाजिक न्यायका सन्दर्भमा भएको छलफलको स्मरण गर्नुहुँदै नेपाल सरकारले सरोकारवाला निकायसँग थप परामर्श गरी आवश्यक प्रक्रिया पुरा गरेर यथाशीघ्र सामाजिक न्यायका लागि विश्वव्यापी साझेदारी (Global Coalition for Social Justice) मा सहभागिता जनाउने जानकारी गराउनु भयो।