प्रेम प्रसाद पौडेल, पाल्पा। पाल्पाका रिब्दीकोटका किसान अकबरे खुर्सानी तर्फ आकर्षित भएका छन् । जंगली जनावरले पनि नखाने, बारीमा र भिरपाखामा पनि उत्पादन हुने भएपछि किसानहरु यस तर्फ आकर्षित भएका हुन।
पाल्पा रिब्दीकोट गाउँपालिका ४ भैरवस्थानका विष्णु कार्कीले ३ रोपनी पाखोबारीमा ३ हजार बिरुवा लगाएको बताए। गतवर्ष मात्रै करिव ३ लाख रुपैयाँको खुर्सानी विक्री गरेको उनले बताए । यसपाली पनि राम्रै उत्पादन भइरहेको छ । बाँदर, बदेल जस्ता जंगली जनावर बाट जोगाउन समस्या छैन । अन्य बाली लगाउँदा यहाँका कृषकले जंगली जनाबर बाट जोगाउन समस्या हुने गरेको बताए।
रिब्दीकोटमा मात्र ११ सय रोपनी जग्गामा अकबरे खुर्सानीको उत्पादन भएको स्थानिय कृषि कार्यालयले जानकारी दिएको छ। यहाँका ७ सय ७६ जना कृषक अकबरे खुर्सानीको व्यवसायीक उत्पादनमा लागेका छन्। खुर्सानीको व्यवसायीक उत्पादनमा रिब्दीकोट गाउँपालिका र हेफर इन्टरनेशल नेपालको आर्थिक सहयोगमा संचालन गरिएको छ । रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीका अनुसार खुर्सानीका लागि यशोदा फुड प्रालिसँग सम्झौता भएको छ । पोखरा, वुटवल, नारायणगढ लगायतका क्षेत्रिय बजारमा रिब्दीकोटमा समेत यहाँको उत्पादन पुगेको छ। पालिकामै खुर्सानी प्रशोधन गर्ने र अचार बनाउने सामाग्री सहितको उद्योग समेत स्थापना भएको छ।
गाउँपालिकाले पालिकामै खुर्सानी प्रशोधन गर्ने र अचार बनाउने सामग्री सहितको उद्योग स्थापना गरेको छ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) सँग समन्वय गरी प्राविधिक तालिम सञ्चालनपछि यहाँ खुर्सानी खेती शुरु गरिएको थियो । गाउँपालिकाको हावापानी खुर्सानीको लागि उपयुक्त हुने भएकाले ८ वटा वडामा ५ हजार वर्गमिटर क्षेत्रफलमा नर्सरी व्यवस्थापन गरी खुर्सानी खेती गरिएको थियो।
गाउँपालिकामा उत्पादित खुर्सानीमा प्रयोग भएको विषादीको मात्रा परीक्षण गरिएको छ। केन्द्रीय कृषि प्रयोगशालामा कार्वामेट र अर्गानोफस्फेट नामक विषादीको रुकावटको मात्राको परीक्षण गरिएको हो। परीक्षणबाट कार्वामेट ४ दलमलव ८५ प्रतिशत र अर्गानोफस्फेट ८ दशमलव २६ प्रतिशत रहेको छ । ३५ प्रतिशत भन्दा कम रुकावटको मात्रा आउने खुर्सानी खान योग्य मानिन्छ । अकबरे खुर्सानीको उत्पादन र बजारीकरणमा रिब्दीकोट गाउँपालिका र हेफर इन्टरनेशनलको सहयोगमा संचालित कार्यक्रम रहेको छ। रिब्दीकोटमा कुल जनसंख्या १५ हजार चार सय ७३ , ४४ सय दुई घर धुरी रहेको छ।
रिब्दीकोट गाउँपालिकालाई अकबरे खुर्सानीको नामले चिनिन लागेको छ । पाल्पा जिल्लामा पर्ने यस पालिकाले अकबरे खुर्सानीमा सफलता हासिल गरेसँगै यस क्षेत्रका कृषकहरु थप उत्साहित भएका छन । परम्परागत खेती गर्दै आएका यस क्षेत्रका कृषकहरुको खेतीबाली बाँदर, बदेल, दुम्सी जस्ता बन्य जन्तुले नष्ट गर्न लागेपश्चात बैकल्पिक खेतीका रुपमा अकबरे खुर्सानी, अदुवा र बेसार खेती तर्फ उन्मुख भएका हुन । अहिले रिब्दीकोट गाउँपालिकाको करिब ११ सय रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी खेतमा गरिएको छ भने ४०८ रोपनी क्षेत्रफलमा बेसार खेती गरिएको छ । बाँझो जमिनको उपयोग गर्दै खेती गर्ने कृषकहरुलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिए पश्चात पालिकामा यसै वर्षमात्र ९८ रोपनी जग्गा बाँझो जग्गा खनजोत गरी खुर्सानी र बेसार खेती गरेका छन । यस पालिकामा अहिले वर्षौ देखि बाँझिएका जमिनहरु हराभरा हुन थालेका छन।
बाझिएको जमिनको उपयोग गर्दै बेसार खेतीमा आम्दानी बढाउन गाउँपालिकाले अकबरे खुर्सानी र बेसार खेती प्रर्बद्धन कार्यक्रम शुरु गरेको हो । गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीका अनुसार यहाँका २ सय ९५ घरधुरीहरुले ४ सय ८ रोपनी जमिनमा बेसार खेती गरेका छन् । जसमा ९८ रोपनी बाँझिएर खेर गएको जमिनलाई यसै वर्ष उपयोग गरिएको छ र आगामी वर्षहरुमा पनि बाँझो जमिनको उपयोग गर्ने कार्यलाई निरन्तरता दिदै जाने योजना निर्माण गरेका छौ।
रिब्दीकोट गाउँपालिकामा अकबरे खुर्सानी र बेसार खेती गर्ने उद्यमीहरुको संख्या दिनानुदिन बढ्दो छ । तर रिब्दीकोट ४ भैरवस्थानकी मीना कार्कीलाई भने गाउँभरीका महिला दिदी वहिनीले खुर्सानी लगाउने निधो गरेपछी चिन्ता पर्न थाल्यो, एक÷दुई जनाले लगाउँदा त विक्री गर्न गाह्रो हुने ठाउँमा गाउँका ४ सय वढीले लगाउँदा के होला र भन्ने लाग्थ्यो । अकबरे खुर्सानी उत्पादन गर्नुभन्दा बेच्ने कसरी भन्ने चिन्ता थियो, “सबैले लगाउँदा लहलहैमा लगाइयो,” मीना भन्नुहुन्छ, “मकै लगाएको भए बरु पोलेर खान पाइन्थ्यो, खुर्सानी न पोलेर खानु, न उसुनेर,” ३ रोपनी जग्गामा ३ हजार बोट खुर्सानी लगाएकी मीनालाई अन्ततः खुर्सानी पाकेपछी भने बेच्ने समस्या भने रहेन।
रिब्दीकोट गाउँपालिकाको अकबरे खुर्सानी र बेसारको उत्पादन तथा वजारीकरणको अभियानलाई हेफर प्रोजेक्ट नेपालले प्राविधिक सहयोग र साझेदारी गर्दै आएको छ । रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीका अनुसार रिव्दीकोटको खुर्सानी विक्रीका लागि विभिन्न कम्पनीहरुसँग सम्झौता गरिएको छ । साथै पोखरा, बुटवल, नारायणगढ लगायतका ठुलाबजारमा सञ्चालित विभिन्न अचार उद्योग तथा पसलहरुमा खुर्सानी विक्री भईरहेको छ।
यसवर्ष पालिकामा ५ सय मेट्रिकटन खुर्सानीको उत्पादन लक्ष्य राखिएकोमा २ सय मेट्रिकटन खुर्सानीको बजारीकरण भईसकेको छ। खुर्सानी एकैसाथ धेरै पाक्ने र विक्री गर्न गाह्रो हुने भएकोले रिव्दीकोट गाउँपालिका, कृषि ज्ञान केन्द्र र हेफरको सहयोगमा खुर्सानीको बजारीकरणका लागि संकलन तथा प्रशोधन केन्द्र, कोल्ड स्टोर र सोलार ड्रायर निर्माण गरिएको छ । पालिकामै खुर्सानी प्रशोधन गर्ने र अचार बनाउने सुविधा सहितको उद्योग स्थापना भएको छ । हेफरकै सहयोगमा साना किसान सहकारी संस्था र भैरवस्थान बहुउद्देश्यीय सहकारी संस्थालाई प्रदान गरिएको कृषि ढुवानीको साधनले खुर्सानीको बजारीकरणमा थप टेवा पुगेको छ ।
रिब्दीकोट गाउँपालिकाका कृषि प्राविधिक रञ्जिव कुँवर भन्नुहुन्छ “पाल्पा जिल्लामा पहिलो पटक परीक्षणको रुपमा विरुवारोपण गरिएको खुर्सानीको बजारीकरण गर्न सहज थिएन । खुर्सानी खरिद गर्ने कम्पनीहरुले विषादी र पिरोको मात्रा कति छ भन्ने प्रश्न गर्न थाले । यसको परीक्षण गर्नु चुनौतीपूर्ण थियो ।
विभिन्न संघसंस्थाहरुको सहयोगमा रिब्दीकोट गाउँपालिकामा उत्पादित खुर्सानीमा प्रयोग भएको विषादीको मात्रा परीक्षण गरिएको छ । केन्द्रिय कृषि प्रयोगशालामा कार्वामेट र अर्गानोफस्फेट नामक विषादीको रुकावटको मात्राको परीक्षण गरिएको हो । परीक्षणबाट कार्वामेट ४.८५ प्रतिशत र अर्गानोफस्फेट ८.२६ प्रतिशत रहेको छ । ३५ प्रतिशत भन्दा कम रुकावटको मात्रा आउने खुर्सानी खान योग्य मानिन्छ । विषादी नभएको र पिरोको मात्रा बढी भएको पाईएपछी खुर्सानी विक्रीमा सहज भएको छ ।”