प्रेम प्रसाद पौडेल, पाल्पा। लुम्बिनी प्रदेशको पाल्पा जिल्ला किसान पुन अदुवा खेतीतर्फ फर्किएका छन्।
विगतमा भारतीय बजारमा भर पर्नुपर्ने अवस्था रहेकोमा अहिले गाउँमै अदुवा प्रशोधन केन्द्र स्थापना भएपछि किसानहरु फर्किएका हुन्। पहिला बजारको कुनै ग्यारेन्टी थिएन, गाउँमै अदुवा प्रशोधन केन्द्र खुलेपछि बजारका टाउँको दुखाई हराएको स्थानिय कृषक लिलीकुमारी पचभैया मगरले बताउनु भयो । पहिला हामीले उत्पादन गरेको अदुवा के कतिमा विक्री हुने हो, टुंंगो थिएन अहिले गाउँमै प्रशोधन केन्द्र खलेपछि बजार चिन्ता हट्यो। पहिला प्रतिकिलो १५ रुपैयाँ विक्री गरेको लिलीकुमारी जस्ता किसानको अनुभव रहेको छ।
गाउँमा स्थानिय उद्योग खुलेपछि अहिले गाउँमा अदुवा खेती गर्नेको लहर नै चलेको छ । वैदेशिक रोजगारीमा रहेका युवा समेत गाउँमा आएर अदुवा खेती गर्ने योजना बनाएका छन्, स्थानिय यमुना सारु मगरले बताईन। निस्दी गाउँपालिकाको गल्धा, झिरुवास, मित्याल, ज्यामिरे, अर्चले सहलकोट लगायतका गाउँमा बढी मात्रामा खेती हुने गरेको छ। त्यस अलावा जिल्लाको सबैजसो क्षेत्रमा अदुवा खेती हुँदै आए पनि विशेषगरी निस्दी, बगनासकाली तथा पूर्वखोला गाउँपालिकालाई अदुवाको पकेट क्षेत्रका रुपमा मानिन्छ। उद्योग संचालनले गाउँमा केही गर्ने सकिन्छ भन्ने आशाको संचार जागेको स्थानियहरुको भनाई तथा अनुभव रहेको छ।
दिलमाया सारुः व्यवस्थापक, गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्था
गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाको स्थापना भन्दा अगाडि अधिकांश कृषकले अदुवा खेतीमा राम्रो सम्भावना हुदाहुदै पनी व्यवस्थापन सम्बन्धी ज्ञान सीपको कमी, गुणस्तरीय बीउको अभाव, प्रविधि उपलब्ध नहुदा, व्यवस्थित संकलन र उत्पादन पछिको व्यवस्थित भण्डारण हुन नसक्दा नोक्सानी व्यहोरिरहेका थियौ । दाउराको प्रयोग गरी अदुवाको सुठो बनाउने चलने गर्दा गुणस्तरीय सुठो पनि उत्पादन हुन नसक्ने भएकोले व्यवस्थित बजारीकरणमा समस्या थियो । दाउराले अदुवा पोल्दा धेरै श्रम लाग्ने, आगोमा काम गर्न गाह्रो हुन, अदुवा पोल्दा निस्कने धुवाले फोक्सोमा असर गरी दमको समस्या हुने गरेको, धेरै दाउरा लाग्ने हुदा बन फडानी गर्नु पर्ने अवस्था थियो।
हाल सहकारी र सहकारीका सदस्यहरुले यस क्षेत्रमा अर्गानिक अदुवा खेतीको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लगायतका कार्यक्रम सञ्चालन गर्दै आएका छौ । वातावरणमैत्री अदुवा प्रशोधनका लागि सोलार प्लान्ट जडान गरेका छौ ।बजारमा अर्गानिक कृषि उपजको माग र मुल्य उच्च हुनु हाम्रा लागि अवसर थियो । जसका लागि बाख्रा पालनका लागि उन्नत जातका घाँस विकास गरेका छौ । व्यवस्थित खोर गोठ निर्माण, पशुको उचित व्यवस्थापन, औषधि उपचार, बीमा र बजारीकरणमा सहयोग गरेका छौ । बाख्रा पालनबाट निस्केको मल लाई व्यवस्थित गदै अदुवाखेतिमा प्रयोग गर्दै आएका छौ र दुवै व्यवसायलाई हामीले एकीकृत रुपमा सञ्चालन गर्दै आएका छौ । यस क्षेत्रको जैविक विविधतालाई अवसरका रुपमा लिदै यस सहकारीका २७२ जना कृषकहरुले ४० हेक्टरमा अर्गानिक अदुवा खेती गर्दै आएका छन।
व्यवसाय विकासका लागि नेपाल सरकार र हेफरबाट हाल सम्म कुल १,०६,५०० अमेरिकी डलर अनुदान प्राप्त गरेका छौ । जसबाट सहकारीको भवन, कृषि उपज ढुवानीको साधन, प्रशोधन केन्द्र, संकलन केन्द्र निर्माण गरिएको छ । यसैगरी आवश्यक उपकरण सहितको अदुवा प्रशोधन केन्द्र छ जसमा अदुवा धुने र काट्ने मेशिन, पानी परीक्षण गर्ने मेशिन, सोलार ड्रायर, पाउडर बनाउने मेशिन, प्याकेजिङ्ग मेशिन छ । बाख्रा संकलनका लागि आवश्यक पूर्वाधारहरु छन । बाख्राको संकलन केन्द्र छ । अदुवा तथा खसी बोका संकलन गरी नियमित कारोबार गर्दै आएका छौ । अदुवाको बजारीकरणका लागि गतवर्ष हामीले नेपालको कम्पनीसँग सम्झौता गरी बजारीकरणको काम गर्यौ । जसमार्फत हामीले ८ सय ५ केजि सुकाएको अदुवा प्रति केजी ३ सय ५० रुपैयाको दरमा बिक्री गर्यौ । गतवर्ष ४५ मेट्रिक टन खरिद बिक्री गरेका थियौ । यस वर्ष हामीले १ लाख के.जि अदुवा खरिद बिक्री गर्ने लक्ष्य राखेका छौ । यस वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुसँग सम्झौता गरिएको छ । यस मार्फत १० मेट्रिक टन सुकाएको (काँचो ७० देखी ८० मेट्रिक टन) बिक्री गर्ने गरि सम्झौता भएको छ । । छलफल भएका कम्पनीहरुले हाम्रो क्षेत्रको फिल्ड अनुगमन र यस क्षेत्रका कृषकहरुसँग समेत छलफल गरेका छन।
पाल्पामा गल्धा, सहलकोट, पूर्वखोलाको सिलुवा, बगनासकालीको भैरवस्थान, पालुङ्मैनादी, बराङ्दी, फेक, ठिमुरे, खानीगाउँलगायत क्षेत्र अदुवा खेतीका लागि पकेट क्षेत्रका रुपमा विकास हुँदैगएको छ । गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाले उद्योग संचालन गरिरहेको छ । किसानहरुले आफ्नो उत्पादन गरे पुग्छ अरु सबै हामी सहकारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु-याउने काम हाम्रो हो। सहकारीकी व्यवस्थापक दिलमाया सारुले बताईन। अहिले निस्दी गाउँपालिकाको २७५ रोपनी जग्गामा उत्पादन भएको अदुवा अर्गानिक सर्टिफाईड भएको छ। आगामी दिनमा अझै धेरै उत्पादन हुने अपेक्षा लिएको सहकारीका संचालकहरुले बताए।
भ्रमणमा पुगेको संवाददातासंग स्थानिय जनप्रतिनिधिहरुले अदुवा, अकवरे खुर्सानी , तरकारी खेतीमा भएको महत्वपूर्ण योगदानले राष्ट्रिय उत्पादनमा सकारात्मक प्रभाव परेको बताए । हेफर इन्टरनेशनल नेपाल र स्थानिय सरकारको साझेदारीमा भइरहेका कार्यक्रमले राष्ट्रिय उत्पादन बढाउनका लागि सहयोग पु¥याएको संघीय कृषि तथा पशुपन्छी विकास मन्त्री डा.वेदुराम भुषालले बताउनु भयो। पाल्पामा जस्तै देशभरका संगठित किसानले गरेको उत्पादनले देशको व्यापार घाटा कम गर्न सघाउ पु¥याएको छ । व्यापार घाटा कम गर्नेका लागि यो महत्वपूर्ण औजार भएको छ।
नेपालमा वार्षिक उत्पादन कति ? विश्व मानचित्रमा नेपाल कहाँ छ ?
पछिल्ला वर्षहरुमा नेपाल विश्वमै सबैभन्दा बढी अदुवा उत्पादन गर्ने राष्ट्रहको सूचीमा प्रमुख पाँच भित्र पर्छ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले तयार पारेको प्रतिवेदन अनुसार प्रमुख पाँच राष्ट्र भित्र पर्न सफल भएको हो ।
खाद्य तथा कृषि संगठनका अनुसार भारत, नाइजेरिया, चीन र इन्डोनेसिया पछि सबैभन्दा बढी अदुवा उत्पादन गर्ने राष्ट्र नेपाल हो । नेपालमा सन २०२१ मा २ लाख ७९ हजार २०६ मेट्रिक टन अदुवा उत्पादन गरेको राष्ट्र संघीय निकायको रिपोर्टमा उल्लेख छ ।
नेपालमा सबैभन्दा बढी अदुवा उत्पादन सन् २०२० मा भएको थियो । उक्त वर्ष २ लाख ९८ हजार ९४५ मेट्रिक टन अदुवा नेपालले उत्पादन गरेको देखिन्छ ।
सन् २०१५ मा २ लाख ४२ हजार ५४६ मेट्रिक टन, २०१६ मा २ लाख ७१ हजार ८६२ मेट्रिक टन, २०१७ मा २ लाख ७९ हजार ५०३ मेट्रिक टन, २०१८ मा २ लाख ८४ हजार मेट्रिक टन र २०१९ मा २ लाख ९७ हजार ५१२ मेट्रिक टन अदुवा उत्पादन गरेको थियो ।
सन २०१९ मा नेपाल विश्वमा सबैभन्दा बढी अदुवा उत्पादन गर्ने राष्ट्रको सूचीमा भारत, नाइजेरिया र चीनपछि चौथो नम्बरमा रहेको थियो । एफएओका अनुसार सन १९८५ मा नेपालमा १० हजार मेट्रिक टन अदुवा उत्पादन भएको थियो ।
हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा.तीर्थ रेग्मीले नेपाल सरकार संगको साझेदारीमा अब मसलाबाली तथा तरकारीबालीमा कार्यक्रम संचालन गर्ने नीति अनुसार पाल्पा लगायतका जिल्लामा कार्यक्रम संचालन गरिएको बताउनु भयो । नेपालले व्यहोरेको व्यापार घाटा न्यूनिकरणका लागि मसलाजन्य बाली र तरकारीमा आउँदा दिनमा कार्यक्रम केन्द्रित रहेन छन् ।
सन २००० मा आइपुग्दा नेपालमा वार्षिक अदुवा उत्पादन ७४ हजार ९९४ मेट्रिक टन पुगेको थियो । सन २०१० मा नेपालले २ लाख १० हजार ७९० मेट्रिक टन अदुवा उत्पादन गरेको प्रतिवेदनमा उल्लेख छ ।
नेपालले प्रत्येक वर्ष करोडौं रुपैयाँको अदुवा निर्यात गर्ने गरेको छ । भन्सार विभागका अनुसार गत वर्ष अदुवा निर्यात गरेर १ अर्ब २२ करोड २२ लाख रूपैयाँ बराबरको विदेशी मुद्रा नेपालले आर्जन गरेको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को दुई महिनामा ३३ करोड रूपैयाँको २६ लाख १४ हजार १७८ किलो अदुवा दुई महिनामा निर्यात भएको छ।