नेपालका सहकारीले सहकारीको नीति, सिद्धान्त र मान्यता अनुसार नचलेकाले समस्या: सहकारी तथा गरिबी निवारणमन्त्री अधिकारी


काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नेपालका सहकारीले सहकारीको नीति, सिद्धान्त र मान्यता अनुसार नचलेकाले समस्या जटिल बनेको बताउनुभएको छ ।

१०३ आै अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासङ्घ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले नेपालका सहकारीले सहकारीको नीति, सिद्धान्त र मान्यता अनुसार नचलेकाले समस्या जटिल बनेको बताउनुभएको छ। सहकारीमा राखिने रकमको स्रोत र ऋण परिचालन अझै संशयपूर्ण रहेको बताउनुभयो।

“सहकारीले धितो नराखी ५०/६० करोड रुपियाँ एउटै व्यक्तिलाई दिने अधिकार कहाँ छ?”

“सहकारी नीति र उद्देश्य अनुसार काम गरेका छन् कि छैनन् ? सहकारीमा ठुलो रकम कसरी आयो भन्नेबारे ख्याल गर्न पर्छ कि पर्दैन ?” उहाँले प्रश्न गर्नुभयो, “सहकारीले धितो नराखी ५०/६० करोड रुपियाँ एउटै व्यक्तिलाई दिने अधिकार कहाँ छ?” सबैको माग अनुसार सहकारीका बेथिति रोक्न सहकारी नियमन प्राधिकरण बने पनि सुरुमै विरोध हुँदा प्राधिकरण बनेको तर चाहे अनुसार काम गर्न नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सहकारीलाई नियमन गर्न बनेको सहकारी नियमन प्राधिकरणले कसरी काम गर्छ, कस्तो विधि बनाउँछ भन्ने कुराको सुरुवात नहुँदै नियन्त्रण र खबरदारीको कुरा आउन थाल्यो । बिग्रेको कुरालाई नियन्त्रण नगर्ने हो भने त्यो ठिक ठाउँमा आउँदैन ।” मन्त्री अधिकारीले सहकारीमैत्री ऐन संशोधनका लागि आफू प्रतिबद्ध रहेको बताउँदै, सहकार्य र एकताको आवश्यकता औँल्याउनुभयो।

सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्न सहकारी ऐन, २०७४ मा संशोधन गरी राष्ट्रिय सहकारी नियमन प्राधिकरणको स्थापना भएको हो।

हरेक वर्ष जुलाई महिनाको पहिलो शनिबार मनाइने अन्तर्राष्ट्रिय सहकारी दिवसमा यस वर्ष ‘सहकारी : एक राम्रो विश्वको निर्माणका लागि समावेशी र दिगो समाधानका संवाहक’ भन्ने नाराका साथ मनाइएको हो।

अन्तर्राष्ट्रिय सहकारी महासङ्घले सन् १९२३ देखि अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन सुरु गरेको हो।

संयुक्त राष्ट्र सङ्घले समेत समुदायको सामाजिक आर्थिक तथा सांस्कृतिक विकासमा सहकारीको महत्वपूर्ण योगदानको कदर गर्दै यसै दिनलाई सन् १९९५ देखि संयुक्त राष्ट्र सङ्घ अन्तर्राष्ट्रिय सहकारी दिवसका रूपमा मनाउन थालेको हो।

कार्यक्रममा मन्त्रालयका सचिव केदारनाथ शर्मा, महासङ्घका सल्लाहकार केशव बडाल, दीपकप्रकाश बाँस्कोटा, खगराज अधिकारीलगायतले सहकारी व्यवस्थापनका विभिन्न आयाममा चर्चा गर्नुभएको थियो।