काठमाडौं। नवप्रवर्तनमा आधारित व्यवसायलाई कर्जा प्रवाह गर्ने बाटो सहज भएको छ। यसका लागि बुधबार स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षण सम्बन्धमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
यो समझदारीसँगै प्रतिष्ठानको सिफारिसमा राष्ट्रिय वाणिज्य बैंकले स्टार्टअपमा आधारित व्यवसाय गर्नेलाई कर्जा दिने भएको छ । व्यवसायीले परियोजना धितो राखेर कर्जा माग गर्न सक्नेछन्।
समझदारी हस्ताक्षरका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले समझदारी गर्ने सबै पक्षलाई शुभकामना दिदै ऋण डुब्ने परियोजना नगर्न सचेत गराए। उनले भने, ‘आज जुन सहमति सम्झौता भएको छ, त्यसको आजबाट प्रक्रिया सुरु हुन्छ । २५ करोड रुपैयाँ सरकारले यसमा विनियोजन गरेको छ। ३ प्रतिशत ब्याजमा ऋण दिने हो । पारदर्शी हिसाबमा ऋण प्रवाह होस्, प्रोजेक्टहरु राम्रो राम्रो होस् भनेर निर्देशन दिएको छु।’
कृषि तथा पशुपन्छी, वन पैदावार, पर्यटन प्रवर्दन तथा मनोरञ्जन र अतिथि सत्कार, विज्ञान प्रविधि, सूचना तथा सञ्चार, मानव स्वास्थ्य सेवा, शिक्षा तथा शिक्षण सिकाइ, अटोमोबाइल, परम्परागत प्रविधि, उत्पादन र सेवा प्रवाहको प्रक्रिया सुधार, घरायसी वा दैनिक जीवनयापन, खाद्य उत्पादन तथा प्रशोधन, सहज र सुरक्षित यातायात तथा पारवहन सेवा, खानी तथा खनिज अनुसन्धान र विकाससँग सम्बन्धित क्षेत्रमा कर्जा दिने समझदारीपत्रमा उल्लेख छ।
त्यस्तै फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षण, विपदर व्यवस्थापन, वैकल्पिक तथा नवीकरणीय ऊर्जा र जलवायु परिवर्तन न्यूनीकरणसँग सम्बन्धित क्षेत्रका व्यवसाय पनि कर्जा दिन सकिनेमा समेटिएको छ ।
अधिकतम कर्जा रकम सीमा अन्तर्गत स्टार्टअप उद्यम परियोजनामा बढीमा २५ लाख रुपैयाँ दिन सकिने सम्झदारीपत्रमा उल्लेख छ । स्टार्टअप उद्यमकर्जा प्रदान गर्न र निक्षेप तथा कर्जा सुरक्षणका लागि प्रतिष्ठानले बैंकलाई कर्जा सुरक्षणमा हाललाई २४ करोड २५ लाख रकम उपलब्ध गराउने छ ।
कर्जाको सेवा शुल्क र ब्याजदर सेवा शुल्क र कार्यविधि बमोजिम हुने जनाइएको छ । बैंकले कर्जा प्रवाहगर्दा स्वीकृत व्यवसाय वा परियोजना नै धितोको रूपमा राख्नेछ । त्यस्तो व्यवसाय वा परियोजनाको बीमा उद्यमी आफैले गर्नुपर्ने छ ।