
काठमाडौँ – वैदेशिक रोजगारबाट नेपाल फर्की उद्यम गरेका उद्यमीलाई पुरस्कृत गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम ‘वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीका लागि राष्ट्रिय पुरस्कार’ बाट उनीहरूलाई पुरस्कृत गरिएको हो ।
वैदेशिक रोजगारीमा गई पुनः स्वदेश फर्की वैदेशिक रोजगारीबाट आर्जित ज्ञान, सिप, अनुभव र पुँजीलाई उद्यमशीलता र रोजगारीका क्षेत्रमा आधिकारिक उपयोग गर्दै समृद्ध राष्ट्र निर्माणमा योगदान पुर्याउन थप जागरूक एवं प्रेरणा मिलोस् भन्ने मूल अभिप्राय लिइएको मन्त्रालयले जनाएको छ ।
कार्यक्रममा प्रत्येक प्रदेशको प्रतिनिधित्व रहने गरी ७ जनालाई ‘उद्यमी राष्ट्रिय पुरस्कार’ स्वरूप नगद ७५ हजार सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
नेपाल फर्की उद्यम गरेका पुरस्कृत उद्यमी:
- आमा कृषि फर्म उर्लाबारी मोरङका राजीव खड्का,
- निम्तो एग्रो फार्म जितपुर बाराका शंकर सिम्खडा,
- बैतेश्वर रेस्ट एस्ड क्याटरिङ सर्भिस बैतेश्वर, दोलखाका कुमार श्रेष्ठ,
- वसन्त पोल्ट्री फार्म भानु, तनहुँका बसन्तबहादुर खड्का,
- न्यु सन्ध्या होटेल एन्ड रेस्टुरेन्ट र सासु बुहारी कृषि तथा पशुपालन फर्म अर्घाखाँचीका शोभाखर पौडेल,
- देउती होजियारी उद्योग एन्ड ट्रेडिङ सेन्टर वीरेन्द्रनगर सुर्खेतका लक्ष्मीप्रसाद ढकाल र
- कैलापाल बहुउद्देश्यीय कृषि फर्म पाटन बैतडीका तर्कसिंह विष्टले पुरस्कार तथा सम्मान पत्र प्राप्त गरेका हुन् ।
देशभरिबाट उत्कृष्ट उद्यमीका रूपमा भूमिका सिपमूलक तालिम केन्द्र दमक झापाका रविन पोख्रेललाई ‘उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार’ स्वरूप नगद १ लाख ५० हजार सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
पुरस्कृत तथा सम्मानित उद्यमी छनोट गर्दा ‘विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६’ ले तोकेबमोजिम रोजगारी सिर्जना, पुँजी लगानी, स्थानीय साधन, स्रोत र प्रविधि प्रयोग, उत्पादन निर्यात गरे/ नगरेको, सामाजिक दायित्व बहन गरे/नगरेको, वातावरणमैत्री प्रविधि प्रयोग तथा प्रदूषण व्यवस्थापन र उद्यम सञ्चालन गरेको भौगोलिक क्षेत्र गरी जम्मा ७ वटा मूल्यांकन सूचकलाई आधार लिइएको थियो ।