
“धान बालीमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता“ भन्ने मूल नाराका साथ आज देशभर २२औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ ।
यसै सन्दर्भमा, खाद्यको लागि कृषि अभियान र माडी नगरपालिका चितवनको संयुक्त आयोजनामा माडी–३ स्थित थारु समुदायमा विशेष रोपाई कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा नगरपालीका मेयर, उपमेयर, वडा अध्यक्षहरु, कृषि लगायत विभिन्न शाखाका प्रमुखहरु, खाद्यका लागि कृषि अभिायानका संयोजक तथा सचिवालयका सदस्यहरु, थारु कल्याणकारी समितिका उपाध्यक्ष, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरु, पत्रकार र स्थानीय किसानहरूको उल्लेखनिय उपस्थिती रहेको थियो।
कार्यक्रममा बोल्दै अभियानका संयोजक उद्धव अधिकारीले विगत लामो समयदेखि अभियानले प्रकृतिमैत्री खेतीपातीको पक्षमा पैरवी गर्दै आईरहेको र असार १५ को अवसरमा प्रकृतिपुजक भूमि पुत्र थारु समुदायसँग जोडिन पाउँदा खुशी लागेको बताउनु भयो ।
धान सभ्यता र थारु संस्कृतिबीचको अन्योन्याश्रीत सम्बन्ध रहेको बताउँदै हामी सँग भएका बहुगुणी ३००० भन्दा बढी धानका जातहरु मध्ये मुस्कीलले ५०–६० वटा मात्र चलन चल्तीमा रहनु आफैमा बीउ माथीको ठूलो संकट भएको र यहि ५०–६० वटा धानका जातहरु जीवित रहनुमा पनि थारु लगायत साना किसानहरुले अवलम्न गर्ने कृषि संस्कृतिको महत्वपूर्ण योगदान रहेको बताउनु भयो । बीउमाथीको यति ठूलो क्षति हुँदापनि सरोकारवालाहरुको भरोसा भने आयातीत नपुङ्गसक बीउहरुमा मात्र केन्दित रहनु दुखद रहेको बताउनु भयो ।
त्यस्तै, पालिकाको मेयर तारा कुमारी महतोले थारु समुदाय र किसानी पर्यायवाची जस्तै भएको कुरा राख्दै परापूर्वक कालदेखि आजसम्म खेतीपातीमा थारु समूदयाको महत्वपूर्ण योगदान रहँदै आएको बताउनु भयो।
माडी ३, महेश्वरी कृषक समूहका अध्यक्ष ओम प्रकाश महतोको अध्यक्षतमा भएको उक्त रोपाई महोत्सवमा अतिथी तथा सहभागिहरुलाई माटोको टीका लगाई स्वागत गरिएको थियो।
रैथाने धानको जात, रैथाने किसान र रैथाने खाजा सहित उल्लासमय वातावरणमा रोपाई महोत्सव सम्पन्न भएको थियो।