देशव्यापी निरन्तर वर्षा हुने


काठमाडौँ । यो वर्षको मनसुनले आइतबारदेखि वर्षाको गति बढाएको छ । आउँदो सातासम्म देशव्यापी निरन्तर वर्षा हुने भएको छ।

साताको पहिलो तीन दिन आइतबार, सोमबार र मङ्गलबारसम्म गण्डकीदेखि पारिका चार वटा प्रदेशमा अधिक वर्षाको खतरा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

त्यसपछिका बाँकी दिनमा बागमतीदेखि पूर्वका तीन वटा प्रदेशका विभिन्न भूभागमा अधिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मौसम विश्लेषणले अबका दिनमा सम्भावित भीषण र अति भीषण वर्षा दोहोरिने दिनहरू बढी देखाइरहेको छ, त्यसैले  सावधानी र सतर्कता दुवै अपनाउनुपर्ने देखिन्छ ।”

महाशाखाका अनुसार मनसुन नेपालमा बलियो बन्दै फैलँदै गएको छ । मनसुनको न्यूनचापीय रेखा नेपालमा पूर्वमा सरदर स्थानमा र पश्चिममा दक्षिणतर्फ तेर्सिंदै उत्तरतर्फ पश्चिम नेपालको नजिक आइपुगेको छ । त्यसैले पनि नेपालको पश्चिमी भूभागमा शनिबार रातिदेखि साताको पहिलो तीन दिनमा अधिक वर्षा गराउँदै छ । बुधबारदेखि न्यूनचापीय रेखा पूर्वी नेपालको नजिक सर्ने भएकाले पूर्वदेखि मध्य नेपालमा अधिक वर्षा गराउने सम्भावना रहेको मानन्धरले जानकारी दिनुभयो । जसले बागमती, कोशी र मधेश प्रदेशका विभिन्न स्थानमा भीषण वर्षा गराउने छ ।