इकोनोमिक खबर, काठमाडौं । बजार विकास तथा सुधारका प्रयास भइरहेको समयमा लगानीकर्ताहरुलाई संयमता अपनाउन नियामक निकाय नेपाल धितोपत्र बोर्डले आग्रह गरेको छ ।
पछिल्लो समय सेयर बजारमा बजार प्रतिकुल गतिविधि नगरी संयमता अपनाउन नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई आग्रह गरेको छ । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताका विभिन्न संघसंस्थाले घोषणा गरेको आन्दोलनका कार्यक्रम प्रति बोर्डले ध्यानाकर्षण पनि भएको जनाएको छ ।
बजार विकासको साझा उद्देश्य प्राप्तिको लागि सबैको सहयोग र सहकार्यको अपेक्षा गर्दै बजार प्रतिकुल गतिविधि नगरी संयमता अपनाउन बोर्डले लगानीकर्तालाई आग्रह गरेको छ ।
आगामी चैत १५ र १६ गते काठमाडांैमा हुने दोस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको पूर्व सन्ध्याको पेरिफेरीमा त्यसलाई प्रतिकुल प्रभाव पर्नेगरी भएको आन्दोलनको घोषणा नगर्न बोर्डले आग्रह गरेको छ ।
बोर्डले समग्र धितोपत्र बजार र लगानीकर्ताको हितको लागि उल्लेखनीय सुधार र विकासका कार्यहरु गर्दै आइरहेको दाबी गर्दै नियमनकारी निकायका पदाधिकारीहरुको घर घेराउ लगायतका अन्य गैर व्यवसायिक कार्यक्रमले नियमनकारी निकायलाई कमजोर बनाई बजार विकासको कार्यमा बाधा पुग्ने जनाएको छ । बजार सञ्चालन र लगानीकर्ताको हित संरक्षणमा समेत नकरात्मक प्रभाव पर्ने तर्फ बोर्डले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
सरकारको नीति तथा बोर्डको योजना अनुसार धितोपत्र बजारको विकास तथा धितोपत्र बजारलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन बोर्डले केही समय अगाडिदेखि बजार सुधार र विकासका लागि विशेष रुपमा कार्य गर्दै आइरहेको जनाएको छ ।
बोर्डले २०७३ साउन १ गतेदेखि काठमाडौं उपत्यका र २०७३ माघ १ गतेदेखि काठमाडौं उपत्यका बाहिर समेत अर्थात नेपालभर सार्वजनिक निष्काशनमा दरखास्त दिने दरखास्तवालाहरुले आफ्नो डिम्याट खाता दरखास्त फाराममा अनिवार्य गर्दै सार्वजनिक निष्काशनमा आश्वा प्रणाली लागू गरिएको जनाउँदै बोर्डको ‘एक नेपाली एक डिम्याट खाता’ अभियानले काठमाडौं बाहिरका दुर्गम क्षेत्रका लगानीकर्ताहरुको संख्या उल्लेखनीय रुपले बढाएको जनाएको छ ।
प्राराम्भिक सार्वजनिक निष्काशनका अधिकतम शेयरहरु डिम्याट अर्थात अभौतिकिकरण भएको भन्दै बोर्डले वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षित गर्ने गरी धितोपत्रको प्रिमियम मूल्य निर्धारण तथा सम्भव भएसम्म दरखास्त दिने सबैलाई धितोपत्र बाँडफाँड गर्न सक्ने लगायतका धितोपत्र निष्काशन तथा बाँडफाँड गर्ने व्यवस्था गरेको जनाएको छ ।
मर्चेन्ट वैंकरको वित्तीय अवस्था सुदृढ गराई मर्चेण्ट बैंकरको प्रतिस्पर्धात्मक क्षमतामा बृद्धि गराउने व्यवस्था, हकप्रद तथा बोनस शेयर डिम्याट खाता र नगद लाभांश लगानीकर्ताको बैंक खातामा जाने व्यवस्था तथा थप निष्काशनको मूल्य निर्धारणका मापदण्ड बनाई लागू गरिएको बोर्डले जनाएको छ ।