
काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।
३७ औं वार्षिक साधारण सभाले आ.व. २०८०/०८१ को लागि कम्पनीको अद्यावधिक चुक्ता पूँजी रु.५,२१,२१,३३,०८२ मा १० प्रतिशतका दरले नगद लाभांश रु.५२,१२,१३,३०८ र ५ प्रतिशतका दरले बोनस शेयर रु.२६,०६,०६,६५४ का साथै उक्त नगद एवं बोनस लाभांशमा कर प्रयोजनको लागि रु.४,११,४८,४१८ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी रु.५ अर्ब पुर्याउनु पर्ने बाध्यात्मक ब्यवस्था गरेकोमा हाल कायम रहेको चुक्ता पूँजी रु.५,२१,२१,३३,०८२ मा ५ प्रतिशतको बोनस शेयर थप भई कुल चुक्ता पूँजी रु.५,४७,२७,३९,७३६पुगेको साधारण सभामा जानकारी दिइएको छ ।
सभामा अध्यक्ष सिंहले समीक्षा वर्ष २०८०/८१ मा अर्थतन्त्र चुनौतीपूर्ण रहेको उल्लेख गर्दै कोभिड महामारीको दीर्घकालिन प्रभाव, भू–राजनितिक संघर्ष एवं प्रतिकुल मौसमको कारणले आपूर्ति श्रृंखलामा अवरोध उत्पन्न भई खाद्यान्न, उर्जा र अन्य वस्तुहरुमा मूल्य वृद्धि भएको एवं देशभरका सहकारीमा परेको समस्या, घर जग्गा कारोबारमा छाएको मन्दी एवं वस्तु तथा सेवाको मागमा ह्रास आएको कारणले समग्र अर्थ ब्यवस्था प्रभावित भएकाे बताइन् ।
हाल अर्थतन्त्र सुस्त गतिमा रहेको भएतापनि वाह्य सूचकांकहरु सकारात्मक रहेको र आन्तरिक आर्थिक अवस्थामा केही समयपश्चात सुधार आउने अपेक्षा गरिन् ।
कुल बीमा शुल्क २१.९० प्रतिशतले वृद्धि
आव २०८०/०८१ मा कम्पनीको ब्यवसाय सन्तोषजनक रहेको कम्पनीले जनाएको छ। कम्पनीको कुल बीमा शुल्क २१.९० प्रतिशतले वृद्धि भई रु.२०४९.१२ करोड पुगेको छ । समिक्षा वर्षको संचालनबाट जम्मा रु.१३६८.१८ करोड खुद थप रकम कुल बीमा करार दायित्वमा सारिएको छ र कुल बीमा करार दायित्व गत वर्षको तुलनामा २१.७० प्रतिशतले वृद्धि भई वर्षको अन्तमा रु.७९६०.१८ करोड पुगेको कम्पनीले जनाएको छ।
यसै गरी कम्पनीले समीक्षा वर्षमा मृत्यु दाबी, अवधि समाप्ती एवं आंशिक अवधि समाप्ती दाबी, सर्मपण मूल्य, दाबी एवम् अन्य दाबी भुक्तानीमा रु. ८३२.८२ करोड दाबी भुक्तानी गरेको छ । कुल लगानी १७.३५ प्रतिशतले वृद्धि भई रु.७०१५.४६ करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ।
आ.व.२०८०/०८१ मा सो दर ९.१७ प्रतिफल कायम रहेको कम्पनीको विवरणमा उल्लेख छ।
कम्पनीले आफ्ना सबै लगानी योग्य रकमहरु नेपाल बीमा प्राधिकरणबाट निर्देशित क्षेत्रभित्र रहेर पारदर्शीता एवं प्रतिफलको हिसाबले अधिकतम दीर्घकालिन लगानीका औजारहरुमा लगानी गर्दै आएको र यसबाट बीमितहरुको अधिकतम् हित संरक्षण हुनेमा कम्पनी विश्वस्त रहेको छ।
कम्पनीले आफ्नो लगानी विविधिकरण गर्न प्रयासरत रहेको र सोही क्रममा कम्पनीले आगामी दिनहरुमा आफ्नो स्वामित्वमा जग्गा रहेका शाखाहरुमा ब्यापारिक भवन निर्माण गर्ने प्रयोजनको लागि स्थिर सम्पत्तिमा थप लगानी गर्दै जाने नीति अवलम्बन गरेको जनाएको छ।
यसै परिप्रेक्षमा कम्पनीको नेपालगन्जस्थित भवन निर्माण कार्य सम्पन्न भई संचालनमा आइसकेको बताएको छ।
कम्पनीले आफ्नो ईटहरी शाखाको लागि आफ्नो स्वांमित्वमा रहेको जग्गामा नयाँ आधुनिक ब्यापारिक भवन निर्माण प्रकृया पनि अगाडि बढाएको जनाएको छ।
कम्पनीलाई प्रविधिमैत्री बनाउन यथाशक्य लगानी भइरहेको जानकारी दिइएको छ।
यसैगरी कम्पनीमा कर्मचारीहरुलाई प्रशिक्षित गर्न आवश्यक प्राविधिक तालिम प्रदान गर्नमा कम्पनी केन्दित रहेको बताएको छ।
कम्पनीले ब्यवसायीक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्व बीचको सन्तुलनलाई निरन्तरता दिई नियमनकारी निकायको निर्देशन अनुसार खुद नाफाको १ प्रतिशत बराबर रकम सामाजिक उत्तरदायित्व जगेडामा स्थानान्तरण गरेको जानकारी दिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व शीर्षक अन्तर्गत कम्पनीले विशेष गरी स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ । यसै सन्दर्भमा समिक्षा वर्षमा कम्पनीले केटाकेटीको स्वास्थ्य उपचार सम्बन्धि परियोजनाको लागि काठमाडौं इन्टिच्युट अफ चाइल्ड हेल्थ संस्थालाई रु. २५ लाखको आर्थिक सहयोग समेत प्रदान गरेको सो अवसरमा जानकारी दिइयो।
कम्पनीको ३३ औं वार्षिक साधारण सभाबाट निर्वाचित संचालकहरुको पदाविधी समाप्त भई ३७ वौं वार्षिक साधारण सभाबाट संस्थापक सदस्यहरुको तर्फबाट ३ जना संचालकहरु प्रेमा राज्य लक्ष्मी सिहं, रथी पवन बहादुर पाँडे (अ.प्रा) र कुशल मल्ली साथै सर्वसाधारण समूह तर्फबाट २ जना संचालकहरु कुलदीप शरण सिंह र भवानी राणालाई संचालक समितिमा निर्विरोध निर्वाचन गरेको छ।