राजमार्गका ६ स्थानमा सडक अवरुद्ध, ४ ठाउँमा एकतर्फी यातायात सञ्चालन


काठमाडौँ —बाढी र पहिरोका कारण देशका विभिन्न ६ स्थानमा आज पनि सडक अवरुद्ध भएको छ । प्रहरी प्रधान कार्यालका अनुसार अन्य चार ठाउँमा अवरुद्ध भएको सडक भने एकतर्फी खुलाइएको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब निरीक्षक विनोद घिमिरेले एकतर्फी खुलेका सडकलाई दुइतर्फी बनाउने र अवरुद्ध रहेका सडकलाई खुलाउने प्रयास जारी रहेको बताए ।

यस्तै नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ मा बाढीले महेन्द्र राजमार्ग अवरुद्ध बनाएको छ । सो क्षेत्रमा अहिले गाडीको लामो लाइन छ । यात्रुहरु अलपत्र छन् ।

उनका अनुसार अहिले सिन्धुपाल्चोकको भोटेकोशीमा पहिरोका कारण अरनिको राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिकाको कोदारी, लार्चा र कोप्लाङमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्सेमा पहिरो खसेर बेनी–जोमसोम सडक अवरुद्ध पारेको छ ।

यता डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलघाटमा बाढीका कारण भेरी करिडोर पनि पूर्ण रुपमा अवरुद्ध रहेको र खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।