
गोरखा। पालुङटार नगरपालिकाको १७ औं नगरसभा सम्पन्न हुँदै आर्थिक वर्ष २०८२ / ०८३ का लागि समाजवाद उन्मुख नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
पालुङटार नगरपालिकाका नगरप्रमुख विवस चिन्तनले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, आर्थिक समृद्धि र स्थानीय स्तरमा सेवा प्रवाह सुदृढ गर्न लक्षित योजना सार्वजनिक गरे।
नगरप्रमुख चिन्तनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघि वि.सं. २००७ सालको क्रान्ति, वि.सं. २०४६ सालको जनआन्दोलन, वि.सं. २०५२ -२०६२ को जनयुद्ध तथा वि.सं. २०६२ /०६३ को जनआन्दोलनमा सहादत प्राप्त वीर शहीद, बेपत्ता योद्धा, घाइते तथा अपांग योद्धाप्रति श्रद्धा प्रकट गरेका थिए।
पालुङटार नगरपालिकाका मुख्य नीतिगत विषयहरू: * कृषि र पशुपालनमा आत्मनिर्भरता
सिंचाई, मल, बीउ, प्रविधि, बजार र वित्तको पहुँच सबै किसानहरुलाई पुर्याउने उद्देश्यले बहुउद्देश्यीय कृषि योजना अघि सारिएको छ ।
‘एक वडा, एक उत्पादन’ कार्यक्रम, कृषि एम्बुलेन्स, सिंचाई पोखरी, पशु औषधि तथा खोप कार्यक्रम तथा प्रविधिमैत्री कृषिमा जोड दिइएको छ ।
* उद्योग, रोजगारी र उद्यमशीलता
युवाहरुलाई सीपमूलक तालिम, स्टार्टअप प्रोत्साहन, महिला उद्यम प्रवर्द्धन र तीन पाङ्ग्रे सवारी संचालनलगायत कार्यक्रममार्फत स्थानीय रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ ।
* शिक्षा प्रणाली सुदृढीकरण
निःशुल्क अनिवार्य शिक्षा, डिजिटल विद्यालय कार्यक्रम, बहुस्तर शिक्षण पद्धति, विद्यालय खानपान कार्यक्रम र छात्रवृत्ति योजनामार्फत शिक्षामा पहुँच र गुणस्तर दुवैमा सुधार ल्याउने योजना प्रस्तुत गरिएको छ ।
* स्वास्थ्यमा निःशुल्क सेवा र पहुँच
निःशुल्क ओपीडी सेवा, ‘Lab in a Bag’ कार्यक्रम, मानसिक स्वास्थ्य परामर्श, स्त्री रोग विशेषज्ञ सेवा, मातृशिशु स्वास्थ्य कार्यक्रम जस्ता जनमुखी स्वास्थ्य सेवा विस्तार गरिने छ ।
* खानेपानी, सरसफाइ र विपद् व्यवस्थापन
‘एक घर, एक धारा’ अभियान, सार्वजनिक धारा पुनःसंरचना, रिचार्ज पोखरी निर्माण, ढल व्यवस्थापन, वातावरण संरक्षण र विपद् जोखिम न्यूनीकरणका कार्यक्रम अघि सारिएका छन् ।
* समावेशी र सामाजिक न्याय
दलित, विपन्न, अपांगता भएका व्यक्तिहरू, वृद्धवृद्धा र बालबालिकाहरुलाई लक्षित कार्यक्रम, सामाजिक सुरक्षा भत्ता, अपांगता परिचयपत्र र हेरचाहका कार्यक्रमहरू योजना भित्र छन् ।
* श्रोत, कार्यान्वयन र समन्वय
नगरप्रमुख चिन्तनले नगरपालिकाका आन्तरिक स्रोत, संघ र प्रदेश सरकारसँगको समन्वय तथा साझेदारीबाट योजनाहरूको प्रभावकारी कार्यान्वयन हुने विश्वास व्यक्त गरे। ‘हामी मालिक होइन, जनताको सेवक हौं’ भन्ने धारणा दोहोर्याउँदै नगरप्रमुख चिन्तनले पारदर्शी, जवाफदेही र कार्यक्षम स्थानीय शासनप्रति प्रतिबद्धता जनाए ।
* विकासको नयाँ गति र अनुशासित योजना
बढ्दो अनुदान कटौती, आन्तरिक आम्दानीको सीमितता लगायतका चुनौतीबीच पनि नगरपालिकाले विकासको गति कायम राख्ने बताइएको छ।
सबै योजनालाई वार्षिक बजेट र नीति अनुसार कार्यान्वयन गरिने र पालिकालाई कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा समृद्ध बनाउने स्पष्ट दृष्टिकोण रहेको छ।