
काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र नेपाल भ्रमणमा आउनु भएका संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (FAO)का बिशेष प्रतिनिधी डयानियल गुस्टाफसन वीच भेटवार्ता भएको छ।
सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपालको प्रमुख विकास साझेदारका रुपमा एफएओले काम गरेको र सन् २०१५ पछि नेपालको विकास एजेण्डामा पोषण र खाद्य सुरक्षालाई मुलप्रवाहीकरणमा ल्याउनका लागि महत्वपुर्ण भुमिका खेलेको वताउनुभयो।
नेपालको कृषि क्षेत्रको विकासका लागि एफएओद्धारा संचालित परियोजनाहरु मार्फत खाद्य र पोषण सुरक्षा, दिगो प्राकृतिक श्रोतको व्यवस्थापन, जलवायु उत्थानशीलताको निर्माण, आपलकालीन अवस्थाको तयारी एंव ग्रामीण महिलाहरुको आर्थिक उत्थान र सवलीकरणमा योगदान पुर्याउने अपेक्षा व्यक्त गर्नुभयो।
मन्त्री अधिकारीले एफएओको प्राविधिक विज्ञता र अनुभवलाई नयाँ कार्यक्रम मार्फत कृषकसम्म सुरक्षित, पर्यावरणमैत्री र विज्ञानमा आधारित ज्ञान पुरयाउने दिशामा सहकार्य गर्न मन्त्रालय इच्छुक रहेको वताउनुभयो। उहाँले नेपालवाट उत्पादन हुने कृषि उत्पादनहरुको विभिन्न देशहरुमा निर्यातका लागि क्वारेन्टाईन क्षेत्र लगायत विषादी व्यवस्थापनका क्षेत्रहरुमा र कृषि वस्तुहरुको भौगोलिक संकेतमा एफएओको सहयोगको निरन्तरताको अपेक्षा व्यक्त गर्नुभयो।
भेटवार्तामा एफएओका विशेष प्रतिनिधि गुस्टाफसनले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रका विभिन्न पक्षलाई असर पारेको र नेपाल जस्ता देशहरुलाई समस्या पारेको उल्ल्ेख गर्दे जलवायु अनुकुलनका कार्यक्रमहरु मार्फत यस्ता चुनौतीहरुको सामना गर्न जरुरी रहेको वताउनुभयो । नेपालले कृषि क्षेत्रमा गरेको प्रगतिले सम्भावाना देखाएको र आगामी दिनमा कृषिका नविन आयामहरुलाई अबलम्वन गर्दे जानुपर्नेमा जोड दिनुभयो ।
भेटवार्तामा एफएओका नेपाल तथा भुटान प्रतिनिधि केन सिमिजु, मन्त्रालयका सहसचिव हरिवहादुर के.सी लगायतको सहभागीता थियो।