कोरोना भाइरस पुनः छिमेकी देश भारतमा तीव्र गतिमा फैलिरहेको


काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमणले सन् २०१९ मा जनधनको साथै विश्वभरको अर्थतन्त्रलाई तहसनहस बनाएको थियो ।

सन् २०१९ मा विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस पुनः छिमेकी देश भारत लगायतका एसियाली मुलुकमा तीव्र गतिमा फैलिरहेको छ।

भारत लगायतका देशमा तीव्रगतिमा फैलिएको भाइरस हालसम्म नेपालमा भने पुष्टि नभए पनि कोरोनाले पुनः भयावहको अवस्था त आउने होइन भनेर धेरैमा मनमा त्रास छ।

भारतमा कोरोना सङ्क्रमणले धेरैलाई अस्पतालमा पुर्‍याउनुका साथै केही मृत्यु भएको घटना सार्वजनिक भएकोले धेरैले त्रासित भएका छन्।

यो भाइरस नेपालमा हालसम्म पुष्टि नभए पनि ढिलो चाडो नेपालमा पनि देखिने विज्ञको भनाइ छ।

नयाँ कोरोना कति खतनाक छ ?

हाल भारतमा ओमिक्रोनको नयाँ पुस्ता एनबी.१.८.१ भाइरस तीव्र रूपमा फैलिएको सरुवा रोग विशेष डा.शेरबहादुर पुन बताउनुहुन्छ।

डा.पुनका अनुसार यो भेरिएन्ट ओमिक्रोन जस्तै अति सङ्क्रमक भए पनि कम घातक छ ।

उहाँ भन्नुहुन्छ,“अहिले भारत लगायतका देशमा देखिएको भाइरस ओमिक्रोनको नयाँ पुस्ता हो । यो भाइरस कस्तो छ भने पुष्टि नभए पनि विश्व स्वास्थ्य सङ्गठनले भाइरस अति सङ्क्रामक भए पनि कम घातक भएको उल्लेख गरेको छ ।”

यो भाइरस कम घातक भएकाले जोखिम समूहलाई अस्पतालसम्म पुर्‍याए पनि आइसियूमा भर्नाहुने दर निकै न्युन रहेको डा.पुनको भनाइ छ।

उहाँ भन्नुहुन्छ, “भारतमा धेरै जनसङ्ख्या छन्। धेरैले जनस्वास्थ्यका मापदण्ड अपनाएको देखिँदैन त्यसैले पनि धेरै सङ्क्रमित पुष्टि भएको हुनसक्छ ।तर, आइसियूमा भर्ना दर भने निकै न्युन छ।”

नेपालमा यो भाइरस फैलने सम्भावना कति छ ?

भारतमा कुनै पनि सङ्क्रमण फैलिएपछि ढिलो चाँडो नेपालमा फैलिएको बिगतको अनुभवले देखाएको हुँदा यो भाइरस पनि ढिलो चाँडो पुष्टि हुने हुँदा सचेत रहन डा.पुनको आग्रह छ।

डा.पुन भन्नुुहुन्छ, “भारतमा कोरोना सङ्क्रमण फैलिएपछि, नेपालमा पनि ढिलो चाँडो फैलिएको विगतको अनुभव देखाएकोले सबै सचेत रहनुहोला । सरकारले यो भाइरस नेपाल भित्रन नदिन गृहकार्य गरेकै होला ।”

 

 नयाँ कोरोनाको लक्षण ?

चिकित्सकका अनुसार कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्ने सरुवा रोग हो । कोरोना भाइरसको सङ्क्रमण हुँदा सामान्य फ्लुका जस्तै लक्षण देखिएको डा.पुन बताउनुहुन्छ ।

उहाँका अनुसार रुघा, खोकी लाग्ने, घाँटी दुख्ने, आलश्य हुने, मांशपेशी दुख्ने, जिउ दुख्ने, नाक बन्द हुने, झाडापखाला लाग्ने, ज्वरो आउने, जिउ दुख्ने यो भाइरसका प्रमुख लक्षण हुन् ।

उहाँ भन्नुहुन्छ,“यो भाइरसका सामान्य लक्षण देखिन्छन् ।तर, लक्षण सामान्य भनेर हेलचक्राइ भने गर्नु हुँदैन् । जोखिम समूहले हेलचेक्राइ गरेमा बिरामीको मृत्यु समेत हुन सक्छ ।”

उहाँ भन्नुहुन्छ,“हाछ्यु गर्दा, सिङ्गान, थुकको छिटा, खकारको माध्येमबाट यो भाइरस एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ ।”