वाग्मती प्रदेशका कृषिमन्त्री श्रेष्ठद्दारा च्याउ उत्पादन युनिटको शिलान्यास


मकवानपुर। ईन्द्रेणी मसरुम फार्म लिमिटेडले मकवानपुरको मकवानपुरगढी गाउँपालिका -५, धाडिङग् (कालिवन) मा सामरी युनिट शिलान्यास कार्यक्रम सम्पन्न गरेको छ।

वाग्मती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले च्याउ उत्पादन युनिटको शिलान्यास गरेका हुन् । उक्त शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै वाग्मती प्रदेशमा रहेका करिब ६ लाख किसानहरुको सुचिकरण, वर्गीकरण, अभिलेखिकरण अन्तिम चरणमा पुगेको मन्त्री श्रेष्ठले बताए।

वाग्मती प्रदेशका ६ वटा स्मार्ट फार्म संचालन गर्न कृषि मन्त्रालयले साझेदारी गर्ने श्रेष्ठले बताए ।

*{सामरी युनिटमा ३ वर्षमा १५ करोड लगानी गर्ने र पछि थप ९ करोड रुपैयाँ लगानी गर्ने-महर्जन}

राजधानी काठमाडौंको चन्द्रागिरि नगरपालिका -१२, बलम्बुमा वि.सं. २०७१ सालमा स्थापित कम्पनीले मकवानपुरको चित्लाङ फार्मपछि दोस्रो सामरी युनिट स्थापना गरेको हो ।

कम्पनीको ४४ कठ्ठा जमिनमा च्याउसँगै च्याउको बिउ र कम्पोष्ट मल उत्पादनसँगै तालिम पनि संचालन गरिने ईन्द्रेणी मसरुम फार्म लिमिटेडका अध्यक्ष धर्मेन्द्र महर्जनले बताए । उच्च प्रविधिको प्रयोग गरेर च्याउ उत्पादन गर्ने महर्जनले जानकारी दिए।

असोज महिनादेखि दैनिक १ हजार र अर्को वर्षदेखि दैनिक ३ हजार किलो च्याउ उत्पादन गर्ने महर्जनले बताए । सामरी युनिटमा ३ वर्षमा १५ करोड लगानी गर्ने र पछि थप ९ करोड रुपैयाँ लगानी गर्ने महर्जनले बताए।

आगामी भदौ महिनादेखि कम्पोष्ट मल र असोज महिनादेखि च्याउ उत्पादन गरी नेपाल भर वितरण गर्ने भन्दै महर्जनले च्याउ उत्पादन तालिमसँगै च्यउको बिउ पनि बिक्री गर्ने लक्ष्य रहेको बताए।

उक्त कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्यहरु केशव प्रसाद पोखरेल, विन्दु श्रेष्ठ, मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर -५ का अध्यक्ष रिपेश दाहाल, वडा नम्बर -६ का अध्यक्ष कृष्णप्रसाद बजगाई, निवर्तमान वडा अध्यक्ष टीका दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यस्तै, शिलान्यास कार्यक्रममा अखिल नेपाल किसान महासंघ मकवानपुरका अध्यक्ष विष्णु दंगाललगायतको आतिथ्य रहेको थियो, भने पत्रकार निराज रानाभाट, प्रहरी, स्थानीय, किसानहरु लगायतको उपस्थिति रहेको थियो ।