जनप्रतिनिधि र नगरवासीबीचको संवादले थप प्रभावकारी बनायो: नगरप्रमुख प्रकाश अधिकारी


काठमाडौं। टोखा नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरी नागरिकहरूका गुनासो, सुझाव तथा सरोकारका विषयमा प्रत्यक्ष संवाद गरेको छ।

कार्यक्रम नगर कार्यपालिकाको कार्यालय, मैजुँहिटी, टोखा, काठमाडौंमा सम्पन्न भएको हो। ‘सिधा कुरा मेयरसँग’ कार्यक्रममा प्रत्यक्ष प्रशारण गरिएको थियो, जसले जनप्रतिनिधि र नगरवासीबीचको संवादलाई थप प्रभावकारी बनायो।

सार्वजनिक सुनुवाई कार्यक्रममा टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले नगरवासीहरूलाई “जन्मदेखि मृत्युसम्म सेवा दिने” प्रतिबद्धता व्यक्त गर्दै, नगरवासीको जन्मदर्तादेखि मृत्युपछि हुने कार्यसम्म नगरपालिकाको सेवा नागरिकको जीवनभर सँगै रहने बताउनु भयाे । उहाँले ज्येष्ठ नागरिकहरूको समस्या समाधानलाई प्राथमिकतामा राख्ने, महिलाहरूको स्वास्थ्य उपचारमा विशेष ध्यान दिइने, स्वास्थ्य, फोहोरमैला व्यवस्थापन, पूर्वाधार विकास, खेलकुद, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा अझ प्रभावकारी सेवा दिने प्रतिवद्धता व्यक्त गर्नुभयाे।

त्यसैगरी टोखा नगरपालिकाका उप–मेयर मुरारी तामाङले एक उदाहरणीय कदमकाे खुलासा गर्दै आफुले पाउने सवारी सुविधा नलिई, सो बजेटबाट नगरपालिकामा दमकल खरिदका लागि रकम प्रदान गरेको जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे, “नगरवासीको सुरक्षाका लागि मेरो व्यक्तिगत सुविधा आवश्यक छैन, दमकल प्राथमिकता हो।” कार्यक्रमस्थलमै यो निर्णयले उपस्थित सबैको ताली पाएको थियो ।

टाेखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले नागरिकका प्रश्नहरूको तथ्यमा आधारित स्पष्ट जवाफ दिँदै नगरपालिकाले स्रोत साधन सीमित भए पनि दक्षता, पारदर्शिता र प्रविधिको माध्यमबाट सेवा प्रवाहमा सुधार ल्याउन लागिपरेको जानकारी दिनुभयाे। उहाँले आगामी बजेटमा जनप्रतिक्रियामा आधारित योजना प्राथमिकता दिने बताउनु भयाे।

यस कार्यक्रममा उपस्थित नागरिकहरूले फोहोरमैला व्यवस्थापन, ढल तथा सडकको समस्या, खानेपानीको अभाव, सुशासन, पारदर्शिता, स्वास्थ्य तथा शिक्षा सेवा सुधार, सरकारी योजनाको पहुँचमा असमानता, लगायतका विविध विषयमा प्रश्नहरू उठाएका थिए।

कार्यक्रमले स्थानीय सरकार र नागरिकबीचको दूरी घटाउने मात्र होइन, विश्वास र उत्तरदायित्वको संस्कृति विकासमा पनि योगदान पुर्‍याएको सहभागीहरूले बताएका थिए।

नागरिक सहभागिता र प्रत्यक्ष संवादमार्फत नीति निर्माणमा योगदान पुगोस् भन्ने उद्देश्यसहित आयोजित यो सार्वजनिक सुनुवाईले स्थानीय शासन प्रणालीलाई अझ जवाफदेही र संवेदनशील बनाउन महत्वपूर्ण भूमिका खेलेको पाइन्छ।

कार्यक्रममा टाेखा नगरपालिकाका वडाध्यक्षहरू, सदस्यहरु, विभिन्न शाखा प्रमुख, स्थानीय समाजसेवी, महिला समूह, युवा प्रतिनिधि, पत्रकारहरू लगायतको उल्लेख्य उपस्थिति थियो ।