फ्यानद्वारा नर्सरी, कट फ्लावर फार्म र खुद्रा पसलको स्थलगत भ्रमण


काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) द्वारा नर्सरी, कट फ्लावर फार्म र खुद्रा पसलको स्थलगत अवलोकन भ्रमण सम्पन्न भएको छ।

फ्यानको कार्ययोजना अनुसार पहिलो चरणमा ‘फ्यान नर्सरी उप-समिति’ को आयोजनामा नर्सरी तथा पुष्प व्यवसाय सम्बन्धि अवलोकन भ्रमण सम्पन्न भएको हो।

बैशाख २८ गतेदेखि काठमाडौं उपत्यकाभित्र रहेका अधिकांश नर्सरी, केही कट फ्लावर फार्म तथा खुद्रा पसलहरूको स्थलगत अवलोकन भ्रमण फ्यान कार्यसमिति र नर्सरी उप-समितिका पदाधिकारीहरु तथा सदस्यहरूको सहभागितामा सम्पन्न भएको हो।

अवलोकन भ्रमणको क्रममा पुष्प व्यवसायसँग सम्बन्धित विविध पक्षहरूमा व्यवसायीहरूसँग गहिरो छलफल गरिएको फ्यानले जनाएको छ।

पुष्प व्यवसायीहरूले कच्चा पदार्थ र आवश्यक सेवाहरूको मूल्य निरन्तर बढिरहे पनि फूल तथा बिरुवाहरू न्यून मूल्यमा बिक्री / वितरण हुनु, गुणस्तरहिन फूल बिरुवा सामाजिक सञ्जालमार्फत प्रवर्द्दन हुनु र त्यसबाट बजारमा अस्वस्थ प्रतिस्पर्धा सिर्जना भई गुणस्तरीय उत्पादनले पनि उचित मूल्य नपाउनुजस्ता समस्याहरू उठाएका थिए।

यस्ता समस्याको दीर्घकालीन समाधानका लागि एकीकृत मूल्य निर्धारणको अवधारणालाई अघि बढाउनु सकारात्मक पहल भएको भन्दै फ्यानको प्रयासप्रति व्यवसायीहरूले समर्थन जनाएका छन्।

यस्तै, अवलोकन भ्रमणका क्रममा बिरुवाको गुणस्तर सुधारका विषयमा पनि सहभागी व्यवसायीहरूबीच महत्वपूर्ण गुनासा, सल्लाह, सुझाव र अनुभवहरूको आदानप्रदान गरिएको थियो ।

समय अभावका कारण केही व्यवसायीहरूसँग प्रत्यक्ष भेटघाट हुन नसकेको फ्यानले जनाएको छ। त्यसैले निकट भविष्यमा बाँकी रहेका नर्सरी, कट फ्लावर फार्म, खुद्रा पसल तथा अन्य पुष्पजन्य व्यवसायसँग सम्बन्धित व्यवसायीहरूसँग समेत प्रत्यक्ष भेटघाट तथा अवलोकन भ्रमणलाई निरन्तरता दिइने फ्यानले जानकारी दिएको छ ।

यसैगरी, अवलोकन भ्रमणमा प्राप्त सल्लाह, सुझाव तथा गुनासाहरूलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यले फ्यानले छिट्टै पुष्प व्यवसायीहरूको भेला आयोजना गर्ने तयारीसमेत गरेको छ । उक्त भेलामा कार्यसमिति, उप-समितिहरू तथा सम्पूर्ण व्यवसायीहरुबीच प्रत्यक्ष अन्तरक्रिया गराई दीर्घकालीन समाधानका उपायहरू तय गरिने प्रतिबद्धता फ्यानले जनाएको छ।